नेपालभरिका शेर्पा विद्यार्थीहरूलाई एकजुट गर्दै उच्च शिक्षाका लागि दिशा निर्देश र छात्रवृत्ति प्रदान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘शेर्वी लोप्टुक कन्क्लेभ २०८२’ असार २१ गते शनिवार कपनस्थित सिद्धार्थ बुटिक होटलमा हुँदैछ । नेपाल शेर्पा विद्यार्थी संघले हरेक वर्ष आयोजना गर्ने यो कार्यक्रम शेर्पा विद्यार्थीहरूका लागि सशक्तिकरण, सञ्जाल विस्तार र सांस्कृतिक अभिव्यक्तिका साथै उच्च शिक्षामा अघि बढ्ने एउटा उत्कृष्ट माध्यम बनेको छ ।
यो वर्षको सम्मेलन पनि सिर्जनशीलता, बौद्धिक संवाद र सामूहिक उत्सवको संगम हुने आयोजकहरूले जनाएका छन् । कार्यक्रमले भविष्यका शेर्पा नेतृत्वकर्ताहरूलाई प्रेरित गर्ने, आत्मविश्वास अभिव्यक्त गर्ने र समुदायमा बलियो सम्बन्ध बनाउने उद्देश्य राखेको आयोजक शेर्पा विद्यार्थी संघका अध्यक्ष फुर्वा छिरिङ शेर्पाले जानकारी दिए ।
शेर्वी लोप्टुकमार्फत् एसईई दिएका शेर्पा विद्यार्थीहरुमध्येबाट छनोट गरी ११ कक्षामा पढ्नका लागि छात्रवृत्ति दिने गरिएको छ । यसपटक अघिल्लो वर्षभन्दा शेर्पा विद्यार्थीहरुको संख्या उत्साहजनकरुपमा वृद्धि भएको अध्यक्ष शेर्पाको भनाइ छ ।
शेवी लोप्टुकका मुख्य आकर्षणहरू :
एस.ई.ई. विद्यार्थी सम्मान
एसईई परीक्षा उत्तीर्ण गरेका शेर्पा विद्यार्थीहरूको मेहनत र उपलब्धिको कदर गर्दै विशेष सम्मान गरिनेछ ।
‘शेर्पा सन्देश २०८२’ विमोचन
शेर्पा विद्यार्थीहरूको लेख, सिर्जनात्मक अभिव्यक्ति, विचार र संस्कृतिको झल्को दिने शेर्पा सन्देश २०८२ सार्वजनिक गरिनेछ ।
छात्रवृत्ति वितरण
प्रतिभाशाली र आवश्यकता भएका शेर्पा विद्यार्थीहरूलाई कक्षा ११ मा अध्ययन गर्नका लागि प्रोत्साहन स्वरूप छात्रवृत्ति प्रदान गरिनेछ ।
प्यानल छलफल
शिक्षा, पहिचान, अवसर र सशक्तिकरणको विषयमा युवा शेर्पा नेताहरू, शिक्षक तथा विज्ञहरूसँग संवाद सत्र सञ्चालन हुनेछ ।
प्रतिभा प्रस्तुति
शेर्पा युवाहरूका लागि नृत्य, संगीत, कविता, चित्रकला लगायतमा आफ्नो प्रतिभा देखाउने अवसर हुनेछ ।
विषयगत प्रस्तुति
विविध सामाजिक, शैक्षिक र संस्कृतिक विषयमा विद्यार्थीहरूद्वारा तयार गरिएको प्रस्तुति रहनेछ ।
लाइभ संगीत
परम्परागत शेर्पा संगीत र आधुनिक संगीतको समिश्रणमार्फत संगीतमा रमाउने रमाइलो गर्ने अवसर प्रदान हुनेछ ।
शेर्वी लोप्टुकमा किन सहभागी हुने ?
‘शेर्वी लोप्टुक’ विशेषगरी शेर्पा समुदायका लागि साधारण कार्यक्रम होइन, यो नयाँ पुस्ताका शेर्पा युवाहरूलाई एकत्रित गराउँदै उच्च शिक्षाको मार्गतर्फ बढाउने अवसर पनि हो । नेपाल शेर्पा विद्यार्थी संघको अभियानको रुपमा रहेको यो कन्क्लेभले विद्यार्थी, पूर्वविद्यार्थी, मार्गदर्शक र समुदायका अग्रज व्यक्तिहरुलाई एकैठाउँमा ल्याउँदै अनुभव आदान प्रदान गर्ने र भविष्यको योजनाहरु तय गर्ने अवसर पनि दिनेछ ।