१ वर्ष दियालो बंगलाको ६३ हजारभन्दा बढीले गरे अवलोकन, ५३ लाख १६ हजार राजस्व संकलन

चितवन । एक वर्षअघि आजकै दिनबाट सर्वसाधारणका लागि खुला गरिएको दियालो बंगलामा ६३ हजार ४ सय ४८ जनाले अवलोकन गरेका छन् । जसबाट ५३ लाख १६ हजार ८ सय ५० रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार भरतपुर महानगरपालिकाले व्यवस्थापनमा सर्वसाधारणका लागि खुला गरिएको हो । दरबार प्रवेशका लागि सर्वसाधारण नेपालीलाई १०० रुपैयाँ तथा ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै छिमेकी राष्ट्रहरु भारत र चीनका पर्यटकका लागि रु १५०, अन्य सार्क राष्ट्रका पर्यटकका लागि २०० र सार्कबाहेकका मुलुकका पर्यटकका लागि ३०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सङ्कलित राजस्वमध्ये ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत महानगरपालिकाले पाउने गरी सम्झौता गरिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दियालो बङ्गला सर्वसाधारणलाई खुला गर्दै गर्दा ट्रष्ट र महानगरपालिका मिलेर भौतिक पूर्वाधारका काम गरिएको बताए । महानगरपालिकाले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला सञ्चालनमा ल्याउन पहल गरेको थियो ।

प्रमुख दाहालले दियालो बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ अध्ययन तथा घुम्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो । तत्कालीन समयमा जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका थिए । यो राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ पनि हो ।

दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा तत्कालीन राजाहरु महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ भने बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । एक नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नंम्बर राजा र ३ नम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले जस्ताको तस्तै राखिएको छ । दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वार्टर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले चितवन घुम्न आउने पर्यटकका लागि बसाइ लम्भ्याउन दियालो बङ्गला सहयोगी भएको बताए । चितवन हुँदै राजधानी भित्रिने र बाहिरने एवं जिल्ला हुँदै यात्रा गर्ने जो कोहीका लागि सहज पर्यटकीय गन्तव्य दियालो बंगला बनेको अधिकारीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार