ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

दाङ । यहाँको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ । तुलसीपुरस्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको जनाइएको छ ।

उक्त थेरापी सेन्टरलाई उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा छुट्याएको रु तीन लाख ५० हजार कर्मचारीको तलब नपुगेपछि थेरापी सेन्टर सञ्चालक समितिले ऋण खोजेर व्यवस्थापन गरेको अध्यक्ष ईश्वरीप्रसाद खड्काले जानकारी दिए । उनका अनुसार हाल एक जना थेरापिस्ट, एक जना थेरापी सहयोगी र एक जना कार्यालय सहयोगी यहाँ कार्यरत छन् । कर्मचारीको तलब मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी हुने गरे पनि नगरपालिकाले पर्याप्त बजेट नछुट्याएका कारण अपुग रकम कतैबाट सहयोगमा नपाइएपछि ऋण खोजेर पनि तलब खुवाइएको अध्यक्ष खड्काको भनाइ छ । ‘नगरले दिएको बजेटले मात्रै पुगेन । त्यसैले रु एक लाख ५० हजारभन्दा बढी ऋण खोजेर आर्थिक मसान्तमा कर्मचारीलाई तलब खुवाएका हौँ,’ उनले भने । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले केन्द्रको अपनत्व लिएको भए पनि अपाङ्ग समाज सुधार कार्यसमितिले पूर्ण रूपमा सञ्चालन गरिरहेको छ ।

थेरापी सेन्टरमा हाल १९ जना कार्यरत छन् । त्यसमा नौ जना आवासीय रहेको र तीमध्ये नौ जनालाई साँझ–बिहानको खाना र दिउँसो नास्ता पनि ब्यहोर्ने गरिएको व्यवस्थापक हुमाकान्त कँडेलले बताए । ‘कसैको जन्मदिन, कसैको वैवाहिक वर्षगाँठका अवसरमा सहयोगमा प्राप्त दाल, चामललगायत सहयोगले जसोतसो व्यवस्थापन गरिरहेका छौँ’, उनले भने ।

विसं २०७८ चैतदेखि सञ्चालनमा ल्याइएको थेरापी सेन्टरबाट सबै सेवा निःशुल्क प्रदान हुँदै आएको छ, तर सरकारी निकायबाट अत्यावश्यक बजेटसमेत व्यवस्थापन हुन सकेको छैन । अपाङ्ग समाज सुधार केन्द्रकै दुईतले भवनमा सेन्टर सञ्चालनमा छ । आवश्यक सबै सामग्री पनि छन् । लुम्बिनी प्रदेशमा सरकारी स्तरबाट सञ्चालित दुई वटा मात्रै थेरापी सेन्टर रहेकाले यसलाई पनि सङ्घ र प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने सरोकारवालाहरूको माग छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार