
टीकापुर । गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका बेला जानकी गाउँपालिका–९ का खेमबहादुर चन्दका दम्पती भने कृषि तथा पशुपालनमा जमेका छन् । चन्द दम्पतीले कृषि तथा पशुपालनमा आफूलाई स्थापित गर्दै लगका छन् । वडा नं ९ मा खेमबहादुर चन्द र रिजना चन्दले विसं २०७७ देखि अमरावती बाख्रापालन कृषि फार्म सञ्चालन गरी कृषि कर्म गर्दै आएका छन् ।
अरुणोदय मावि खैरीफाँटाको आठ बिघा १६ कट्ठा जमिन लिजमा लिएर उनीहरूले बाख्रापालन गरिरहेका छन् । अहिले उनीहरूको खोरमा ७५ बाख्रा छन् । चन्द दम्पतीले बाख्रापालनबाट वार्षिक रु पाँच लाखसम्म कारोबार गर्ने गरेका छन् । यसबाहेक सिजनअनुसारको खेतीपातीबाट समेत आम्दानी हुने गरेको उनीहरू बताउँछन् । सुरूमा परम्परागत रूपमा बाख्रा पालेका चन्द दम्पती व्यावसायिक बाख्रापालन गर्दा धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन् । “बाख्रापालन गर्दा विगतजस्तो चराउने चरन छैन, बाधेर बाख्रा पाल्दा बढी मेहनत गर्नुपर्छ”, खेमबहादुरले भने, “सामुदायिक वन उपभोक्ताले संरक्षण थालेपछि बाख्राका लागि चरन अभाव छ । बाँधेर पाल्दा दाना र घाँस बढी चाहिन्छ ।”
यही पेसाबाट जीवन चलाइरहेका चन्द दम्पतीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पनि सघाएको छ ।
“हामीजस्ता वास्तविक किसानलाई अनुदान सहयोग हुनुपर्छ । आयोजनाले गरेको सूचनाअनुसार सहयोग लिइरहेका छौँ”, रिजना चन्दले भने, “आयोजनाले खोर सुधार, खोर मर्मतमा सघाएको छ । घास काट्ने मेसिन, बोका सहयोग पाएका छौँ ।” विभिन्न पालिकाले किसानलाई वितरण गर्न यहीबाट बाख्रा लिन थालेपछि उनीहरूले उत्पादन बढाउन थालेका हुन् । बजारको अभाव नभएपछि उनीहरूको ध्यान उत्पादनमा मात्र छ । यतिखेर उनीहरूको फर्म हेर्न स्थानीय कृषकहरू आउने गरेका छन् । लिजमा लिएको यही जमिनमा घाँसखेती र अन्य अन्नबाली लगाउने गर्नुभएको छ । यहाँ भएका बाख्रा स्थानीयस्तरमा पाइने जातकै छन् । बोका भने सिँचाइ आयोजनाले बयर जातको दिएको रिजनाको भनाइ छ ।
सुरूसुरूमा बाख्रा पाल्दा रोग लाग्दा समस्या झेलेका चन्द दम्पतीले आजभोलि बाख्रा बिरामी हुँदा खुवाउने औषधि र रोग बारे बुझेको बताउँछन् । “पशुपालन गर्दा हुने क्षतिबाट जोगिन बाख्राको बिमा गर्ने गरेका छौँ, पहिलो वर्ष ज्ञान नहुँदा क्षति बेहोरेका छौँ”, खेमबहादुरले भने, “अब त कुन रोग लाग्यो भनेर सामान्यतया अड्कल पनि गरिहाल्छौँ, अहिले त सजिलोसँग बूढाबूढी मिलेर काम गरिरहेका छौँ ।”
यही बाख्रापालन र कृषि कर्मको आम्दानीबाट चन्दका छोरा कृषि विज्ञान स्नातक तह अध्ययन गरिरहेका छन् । बुबाआमाको कृषिको लगाव देखेर होला छोराले पनि कृषि अध्ययनमा रुचि देखाएको खेमबहादुरको भनाइ छ । बाख्रापालन गरेर छोराको पढाइ खर्च, घर खर्च सबै सहजै चलेको उनले बताए । सिँचाइ आयोजनाका पशु प्राविधिक पुष्पराज भारती चन्द दम्पतीले मेहनतअनुसारको फल लिइरहेको बताउँछन् । “मेहनत गरेर पेसामा टिक्नुभएको छ”, उनले भने, “बाख्रापालनसँगै खेतीपाती पनि गरिरहेकाले उहाँहरूलाई यही पेसामा टिक्न सहज भएको छ ।” यस क्षेत्रका महिला पुरुष पछिल्लो समय रोजगारीका लागि भारतको बैङ्गलोर जाने गरेका छन् । यसरी जाने परिवारले सामान्यतया मासिक ३०र३५ हजार भारतीय रूपैयाँ कमाउने गरेका छन् । यतिखेर यस क्षेत्रका नेपाली दम्पती सयौँको सङ्ख्यामा बैङ्गलोरमा गएका छन् ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल