
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाँडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् ।
तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो । विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरूलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिए ।
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाँडेर तरकारीखेती गरेका हुन,’ उनले भने, ‘विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।’
बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु पाँच हजार तिर्ने गरी भाडामा लिएका छन् ।
विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनोपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमुना आवासीय माविका प्रअ शेरबहादुर केसीले बताए ।
छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनले बताए । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार सहयोग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमुना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताए । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले जानकारी दिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम