
डडेल्धुरा । प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूर पहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन् । केही वर्ष अघिसम्म गाउँघरमा कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् ।
यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, सुप्पा र भकारी बुनेर विभिन्न ठाउँमा मेला, पर्व तथा गाउँघरमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको पाटन नगरपालिका–१० का वीरभान विकले बताए ।
उनका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुका सामग्रीको प्रयोगले बाँस र निगालो सङ्कलनमा समस्या हुन थालेपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो ।
एक दशक अघिसम्म पनि बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । डडेल्धुराको अमरगढी नगरपालिका–७ तिलाडी, कैनी टोल, छचोडा आलितालको डोला, हन्तड, नवदुर्गा गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाका भरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।
“बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ”, अमरगढी–७ का टीका पार्कीले भने, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उनले बताए । गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताए । “गाउँघरमा गोरुबाट गर्ने काममा ट्र्याक्टरको प्रयोगबाट हुन थाल्यो, अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ । अब बाँस, निगालाबाट बुनेका सामग्री लोप भइसकेका छन्”, उनले भने । टाढाबाट कच्चापदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्चअनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उनीहरूको गुनासो छ ।
सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु ४०० देखि रु ६०० सम्म बिक्री गर्ने आएका छन् । त्यस्तै, डालो, भकारी, मानो र नाङ्लो रु एक हजारदेखि रु चार हजारसम्ममा बिक्री गर्दै आएका छन् । युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो । निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारको समेत अभाव छ । नजिकैका गाउँ बस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम