नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् । आज नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा देउराली प्राथमिक अस्पतालको उद्घाटन गर्दै उनले दुई किस्तामा गरेर बीमाबापतको बाँकी भुक्तानी पूरा गरिने बताएका हुन् ।
यसरी प्राप्त हुने रकम स्वास्थ्य सेवा विस्तारमा लगानी गनृ आग्रह गर्दै स्वाथ्यमन्त्री पौडेलले भने, ‘बीमाबापत अस्पतालहरूले प्राप्त गर्ने रकम केही प्रतिशत स्वास्थ्य सेवा विस्तारमा खर्च गर्न म अनुरोध गर्न चाहन्छु । अब प्राप्त हुने बीमाबापतको रकममध्ये ३०–४० प्रतिशत भए पनि स्वास्थ्य सेवा विस्तारमा खर्च गर्नसके राम्रो हुनेछ ।’ पछिल्लो समय सरकारी अस्पतालमा नागरिकको विश्वास बढेकाले उपचारका लागि आकर्षण बढेको मन्त्री पौडेलले बताए । सीमित साधनस्रोतले सबै बिरामीको चाप थेग्न नसक्ने हुँदा अब सबै पालिकामा प्राथमिकस्तरको अस्पताललाई सेवासुविधायुक्त बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।
साउन १ गतेदेखि देशभरका ४८ वटा अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको जानकारी दिँदै मन्त्री पौडेलले स्थानीय सरकारको नेतृत्वमा सञ्चालन हुने ती अस्पतालमा प्रदेश र सङ्घ सरकारले स्रोतसाधन उपलब्ध गराउने बताए । उनले विभिन्न जटिल रोगहरूको उपचारमा नागरिकलाई सहुलियत प्रदान गर्न राज्यले एकमुष्ट रकम छुटको सुविधा प्रदान गरेको बताए ।
‘स्वास्थ्य सेवामा सुधार गर्न सकिएन भने देशमा गणतन्त्र आएको नागरिकले अनुभूति गर्ने छैनन्’,उनले भने, ‘सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई न्यूनतम लागतमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’ हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा रहेको पाँच शय्याको देउराली प्राथमिक अस्पतालबाट आजदेखि नै सेवा सञ्चालन गरिएको छ ।