पौवैखोलामा मोटरेबल पुल निर्माण

स्याङ्जा । पुतलीबजार नगरपालिका–५ पौवैखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा सडकखण्डको वैकल्पिक सडकका रूपमा विस्तार हुँदै गरेको बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौडा सडकखण्डअन्तर्गत पर्ने पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेकोमध्ये रु एक करोड ८६ लाख ९२ हजारमा ठेकेदार कम्पनीसित ठेक्का सम्झौता भएको हो । पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङखोला सिद्धबाबा निर्माण सेवाबीच २०८१ वैशाख १७ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८२ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु एक करोड ८६ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिए ।

ठेक्का सम्झौता भएकोमध्ये ठेकेदार कम्पनीले रु एक करोड ७५ लाख ६९ हजार अन्तिम भुक्तानी पाएको हो । तोकिएको समयावधिभित्रै निर्माण सम्पन्न भएको पुलको लम्बाइ १५।६ मिटर रहेको छ । आठ दशमलव चार मिटर चौडाइको उक्त पुलमा छ मिटरमा गाडी गुड्न मिल्छ भने पुलको दायाँबायाँ दुवैतर्फ २।४ मिटरको फुटपाथ निर्माण गरिएको उनले जानकारी दिए ।

नवनिर्मित मोटरेबल पुलको शनिबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरेका हुन् । मन्त्री केसीले प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासको गति अघि बढाएको बताए । उनले दैनिक आवतजावत, व्यापार, व्यवसाय, कृषि उत्पादनको ढुवानी र अन्य सामाजिक क्रियाकलापमा अझ सहज हुने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार