काठमाडौं । सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो ।
नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनः लयमा आएको छ ।
सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको छ ।
जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना (९.४ प्रतिशत), बंगलादेशबाट ४ हजार ४ सय १३ जना (६.३ प्रतिशत) र बेलायतबाट ३ हजार ५ सय ४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आगमन भएको छ।
क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एशियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना (४८.१ प्रतिशत) र छन् । अन्य एशियाली मुलुकहरूबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट ९ हजार २९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार ७७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७ जना (२.६ प्रतिशत), मध्यपूर्वबाट ८२६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट ३१८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ ।
बोर्डका सीईओ जोशीले भने, ‘भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह, र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ ।’