यो समीकरण ०८४ को निर्वाचनसम्म अघि बढ्छ – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म हालको राजनीतिक गठबन्धन यथावत् रहने दाबी गरेका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा धारणा राख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले राजनीतिक स्थिरता र आर्थिक सुधारको आवश्यकता महसूस गर्दै संसद्का प्रमुख दलहरूबीच सहमति भएको बताए। ‘मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले ‘किन स्थिरता अप्रिय लागेको ? भन्दै विपक्षी दलहरूलाई प्रश्न समेत गरे । प्रधानमन्त्री ओलीले भने,‘विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो, ‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण के-का लागि ?’

वर्तमान गठबन्धन आगामी ०८४ सालको निर्वाचनसम्म रहने उनले दाबी गरे । आवश्यक रहेको स्पष्ट पार्दै भने, ‘देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ,’ प्रधानमन्त्री ओलीले भने ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार