एनएमए निर्वाचनका लागि फुर गेल्जे शेर्पा नेतृत्वको प्यानलद्वारा मनोनयन दर्ता, जीत निश्चित रहेको दाबी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा फुर गेल्जे शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृत विकास ठकुरी मल्लका अनुसार आइतबार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

“पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित फुर गेल्जे शेर्पाको नेतृत्वमा बनेको समूहले उम्मेदवारी दर्ता गराएको हो  । आरोही, व्यवसायी र पर्यटन विज्ञलाई समेटेर बनेको यस समूहले संघलाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको हिमालयन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ । फुर गेल्जे शेर्पाको नेतृत्वमा बनेको प्यानलको वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, सदस्य पदमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे रहेका छन्। बुक होल्डर सदस्यमा आङ थिन्डु शेर्पा, सोना तेम्वा शेर्पा, पेम्बा तेन्जिङ शेर्पा र फुर्वा ओङदी शेर्पा रहेका छन् ।

मनोनयन दर्तापछि छोटो प्रतिक्रिया दिदैं अध्यक्षका प्रत्यासी शेर्पाले सबै हिसाबले समावेशी, सक्षम र व्यावसायिक टिम भएकाले जीत सुनिश्चित रहेको दाबी गरे । एनएमएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आगामी भदौ ७ गते हुँदैछ । फुर गेल्जे शेर्पा नेतृत्वको प्यानलबाहेक एक एक अर्को समूहले पनि उम्मेदवारी दिएको एनएमए निर्वाचन आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार