उपाध्यक्षलाई कारबाही गर्दा एमाले निकट पर्यटन संगठनमा पहिरो, १७ जनाको सामूहिक राजीनामा

भदौ ७ गते सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा संगठनले समर्थन गरेको उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेकपा एमाले समर्थित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले उपाध्यक्ष ङावा ङिमा शेर्पालाई निष्कासन गरेको छ । संगठनविपरित काम गरेको भन्दै शेर्पालाई साधारण सदस्य समेत नरहने गरी २ वर्षका लागि निष्कासन गरिएको हो ।

उपाध्यक्ष शेर्पा एनएमएको निर्वाचनका लागि गठन गरिएको संवाद समितिका सदस्यसमेत थिए । शेर्पाले आधिकारिक निर्णय विपरीत प्रतिस्पर्धी समूहका उम्मेदवारहरूको प्रचार–प्रसार गरेको, मत मागेको र संगठनको उम्मेदवार नभएको भन्दै अर्को समूहको कार्यक्रममा पनि सहभागिता जनाएको संगठनले आरोप लगाएको छ । यही कारण उनलाई संगठनको समर्थन रहेका उम्मेदवारहरु पराजित भएको संगठनले निष्कर्ष निकालेको छ । आफ्नो संगठनले समर्थन गरेका उम्मेदवारहरुको पराजयमा भूमिका खेलेको भन्दै उपाध्यक्ष शेर्पालाई कारबाही गरिएको जानकारी सहितको पत्रसमेत पठाइएको छ ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनकै सिफारिसमा शेर्पा नेपाल पर्यटन बोर्ड र टान अध्यक्ष चन्द्र रिजालको कार्यसमितिमा सदस्यमा समेत नियुक्त भएका थिए ।

एमाले निकट पर्यटन संगठनमा पहिरो
उपाध्यक्ष ङावा ङिमा शेर्पालाई निष्कासन गरेपछि नेकपा (एमाले) निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा पहिरो गएको छ । उपाध्यक्ष ङावा ङिमा शेर्पाको नेतृत्वमा १७ जनाले सामूहिक राजिनामा दिएका छन् । एनएमएको निर्वाचनमा व्यावसायिक हित र संरक्षणको पक्षमा उभिँदा संगठनका नेतृत्वहरुबाट सामाजिक सञ्जालमार्फत आफूलाई जोडेर सिंगो समुदायलक्षित अभिव्यक्ति दिएको भन्दै असन्तुष्टी जनाउँदै संगठनमा आवद्ध शेर्पा नेताहरुले सामूहिक राजीनामा बुझाएका हुन् ।

एनएमएको निर्वाचनमा गठबन्धनको नाममा अध्यक्ष, महासचिव लगायतका अधिकांस मुख्य पदहरु कांग्रेस निकटलाई दिएपछि शेर्पा नेत्तृत्वको समूह असन्तुष्ट थियो । त्यसैले शेर्पाको नेतृत्वको टिमले स्वतन्त्र व्यवसायी फुर गेल्जे शेर्पा निर्वाचनमा जिताउन मुख्य भूमिका खेलेको थियो । सोमवार उनीहरुले विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामो घोषणा गरेका हुन् । संगठनबाट बाहिरिएपनि नेकपा एमालेप्रतिको राजनीतिक आस्था र झुकाव भने रहिरहने उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

राजीनामा दिनेमा ङावा ङिमा शेर्पासहित पासाङ शेर्पा, चेङ्गा छिरिङ शेर्पा, नाङ तादो शेर्पा, फुरी गेल्जेन शेर्पा, फुरी लाक्पा शेर्पा, ङिमा दोर्जी शेर्पा, माया शेर्पा, पेमछिरि शेर्पा, आङ पेम्बा शेर्पा, पेम्बा शेर्पा रहेका छन् । त्यस्तै, वाङ्दा शेर्पा, राजेश्वरी थापा मगर, रिञ्जी जाङ्बु शेर्पा, दोर्ची शेर्पा, फुर्वा तेन्जिङ शेर्पा र कर्मा शेर्पाले पनि राजीनामा दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार