काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गएको साउन मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १४ अर्ब २ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।
चालु आर्थिक वर्षमा थपिएको १४ अर्ब सहित नेपालको कुल सार्वजनिक ऋणको भार २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत छ भने आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षका लागि सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण उठाइसकेको कार्यालयले जनाएको छ । यो वार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति ७.४८ प्रतिशत हो । त्यस्तै चालू आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भएको छ ।
वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि छुट्याइएको बजेट ८.९३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।