भारत भ्रमणमा रहेको नेपाल ‘ए’ को फराकिलो जित, आसाम ९६ रनले पराजित

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाल ए ले प्रभावशाली जित निकालेको छ । भारतको गुवाहाटीमा जारी टी–२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि ९६ रनको सहज जित निकालेको हो ।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयो । आसामका रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए । सिबशंकर रोयले १६ रन बनाए । आसामलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि लेगब्रेक युवराज खत्रीले ४ विकेट लिए । उनले ३.२ ओभरमा १५ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै बाँयाहाते स्पीनर बसिर अहमदले पनि ३ विकेट लिए । कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । देव खनाल र पवन सर्राफले समान ३१–३१ रन बनाए । बसिर अहमदले २७ रन तथा विवेक यादव २६ रनमा अविजित रहे ।

आसामका आकाश सेनगुप्ताले ३ विकेट लिए । अभिनव चौधरीले २ तथा आयुष्मान मलाकार र अभिलाष गोगोइले १–१ विकेट लिए । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो । नेपाल ए ले आसामसँग कुल ५ खेल खेल्नेछ । यसपछिका ३ खेलहरू एसीए रंगशालामा डे÷नाइट रूपमा फ्लडलाइटमा खेलिनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार