काडमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आज, भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर वितरण गरिसकेको थियो।
८३ करोड रुपैयाँ चुक्ता पुँजीको ३५ प्रतिशत बराबर कम्पनीलाई २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्ने स्वीकृति मिलेको छ। त्यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई, २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ । यसबाहेक, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा सार्वजनिक गर्न लागेको हो । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड तोकिएको छ ।