काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गरेपछि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बोनस वितरण पछि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले असोज २३ गते बिहीबार दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४७३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले बोनस सेयर वितरणपश्चात शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।