काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नवयुवा र युवाहरूमा रहेको जाँगर, ऊर्जा, सृजनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी छन् ।
संविधान दिवसको अवसरमा आज शुभकामना दिँदै पूर्व राष्ट्रपति भण्डारीले नेपाली जनताको लामो संघर्ष र बलिदान फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको उल्लेख छ ।
यस अवसरमा पूर्व राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन् । साथै गत भदौ २३ गते नयाँ पुस्ताका युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाको माग राखेर गरेको प्रदर्शनका क्रममा अमूल्य जीवन गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।
“अब देश हाँक्ने जिम्मेवारी नवयुवा र युवा पुस्तासँग रहेको छ । युवाहरूमा रहेको जाँगर, ऊर्जा, सृजनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता हो । युवाहरूको माग, दबाब र स्वाभाविक आक्रोशलाई सकारात्मक रूपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्न सक्नु सबैको दायित्व हो”, पूर्व राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।
मुलुकलाई राजनीतिक अस्थिरता र अन्यौलतातर्फ धकेलिन नदिनका लागि मिहेनत गर्नुपर्ने उत्तिकै जिम्मेवारी राजनीतिक दलहरूको पनि रहेको उल्लेख गर्दै उनले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता अटल राख्न सबै जिम्मेवार पक्षहरूको परिस्थितिको सूक्ष्म विश्लेषण पक्षपोषक र राष्ट्रियता प्रवर्द्धक भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि सही निर्णय लिन चुक्नु हुँदैन भनेकी छन् ।
वर्तमान परिस्थितिमा दलहरू बीचको आपसी प्रतिस्पर्धालाई थाती राख्दै, मनोमालिन्यता र तीक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नुपर्नेमा पूर्व राष्ट्रपति भण्डारीले जोड दिएकी छन् ।