पूर्वाधार विकाससँगै मणिकाधाम पर्यटकीय गन्तव्य बन्दै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका(८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीयस्थल मणिकाधाम क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ । मन्दिर परिसरमा सडक, खानेपानी, धर्मशाला, विद्युत्, टेवा पर्खाललगायता पूर्वाधार विकासका काम तीव्र गतिमा अघि बढाइएको हो ।

बैजनाथ धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालका अनुसार प्राचीनकालदेखि पूजाआराधना हुँदै आएको मणिकाधाम भौतिक पूर्वाधारको अभावले ओझेलमा परेको थियो । “मन्दिर परिसरलाई हराभरा बनाउन फलफूलका बिरुवा लगाएका छौँ, मैदान सम्याउने, खानेपानीको लाइन मर्मत गरी भक्तजनलाई सुविधा दिने काम गरेका छौँ”, उनले भने ।

सङ्घीय सरकारले दुई करोड ४३ लाख ६२ हजार ६४१ को लगानीमा आधुनिक शैलीको धर्मशाला निर्माण गरिरहेको छ । समितिका सचिव डम्बरबहादुर ऐरका अनुसार धर्मशाला निर्माणको ९८ प्रतिशत काम सकिएको छ । धर्मशालासँगै स्नान गर्न धारा र तीनवटा शौचालय निर्माण हुँदैछन् । विद्युत् विस्तार नभएकाले राति भक्तजनले अन्धकारमा सास्ती भोग्दै आएकामा पुल विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् विस्तारको काम सुरु भइसकेको शुक्लाफाँटा–८ वडाध्यक्ष रमेशबहादुर ऐरले जानकारी दिए । “तिहारअघि धार्मिक क्षेत्र उज्यालो बनाउने योजना छ, सोहीअनुसार काम भइरहेको छ”, उनले भने ।

धार्मिक क्षेत्र वरिपरि रहेको वनलाई ‘धार्मिक वन’ का रूपमा दर्ता गरी संरक्षण गर्ने कार्य पनि भइरहेको समितिले जनाएको छ । हरेक वर्ष वर्षात्को कारण बिग्रिने सडकलाई मर्मत गरी भक्तजनको आवागमन सहज बनाउन पहल भइरहेको छ ।
समाजसेवी टेकबहादुर हमालले मणिकाधाम जस्तो महत्त्वपूर्ण पर्यटकीयस्थलको विकासका लागि स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । पछिल्ला तीन वर्षदेखि स्थानीय तहबाट कुनै बजेट उपलब्ध नभएको उनले बताए । “बाह्य स्रोतबाट आएको बजेटले मात्र अहिलेको पूर्वाधार निर्माण सम्भव भएको हो”, उनले भने ।

समितिका संस्थापक अध्यक्ष दुर्गाप्रसाद भट्टका अनुसार करिब तीन दशकअघि झाडी सफा गरेर सडक निर्माण गर्न थालेपछि मात्र यहाँसम्म सामान लैजान सहज भएको हो । त्यसअघि बैलगाँडामा साँधुरो झाडिनै झाडी भएको बाटोमा सामान बोक्न कठिन हुने गरेको उनले स्मरण गरे । “झाडी सफा गरी सडक फराकिलो बनायौँ, प्रचारप्रसारको कार्य सुरु ग¥यौँ, मेला आयोजना ग¥यौँ, पर्यटन बोर्डको सहयोगमा मन्दिर निर्माण गर्‍यौँ”, अध्यक्ष भट्टले भने । त्यसपछि मात्रै धार्मिक पर्यटकीय क्षेत्रका रूपमा पहिचान बनाउन थालेको उनले उल्लेख गरे ।

यस क्षेत्रको धार्मिक महत्त्वसँगै थारु समुदायले यसलाई ‘मुड्का’ नामले चिन्ने गरेका छन् । थारु भाषामा ‘मुड’ भन्नाले शिर भन्ने बुझिन्छ । यसै क्षेत्रमा सबैभन्दा अग्लो स्थानमा बैजनाथ बाबाको स्थापना भएकाले ‘मुड्का’ भन्ने चलन बसालिएको स्थानीय बताउँछन् । पछि मुड्काबाट मणिकाधामका रूपमा परिणत भएको हो । मणिकाधाम परिसरमा रहेको सुन्दर ताल अहिले पुरिँदै गएको छ ।

समितिले तालमा स्थायी रूपमा पानीको व्यवस्था मिलाउन ‘अटोजन बोरिङ’ जडान गर्नुपर्ने आवश्यकता औँल्याएको छ । त्यसैगरी, गुरुयोजनामा गुरुकुल सञ्चालन गरी वैदिक शिक्षा पद्दति जोगाउने योजना पनि अघि सारिएको छ । भक्तजनको मागअनुसार गौँडी नालमा पक्की पुल निर्माणका लागि पनि पहल भइरहेको छ । हाल पुल नभएकाले वर्षातको समयमा मणिकाधाम पुग्न कठिन हुने गरेको भक्तजनको गुनासो छ । मणिकाधाम क्षेत्रमा सिद्धनाथ, बैजनाथ बाबाको प्राचीन मन्दिर, विवाह मण्डप, धुनीघर, भजनकीर्तन गर्ने स्थल र साधु बस्ने कुटी रहेका छन् । प्रत्येक वर्ष फागुन महिनाको नवमी र दशमीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

घना सालको वनले घेरिएको मन्दिर, छेउमा रहेको मुड्का ताल र यहाँको सुन्दरताले धार्मिक महत्त्व उजागर गरेको स्थानीय बताउँछन् । पछिल्लो समय मणिकाधाम पर्यटकीय सम्भावनायुक्त क्षेत्रका रूपमा विकसित हुँदै गएको छ ।
पूर्व–पश्चिम राजमार्गको कलुवापुर वा झलारी हुँदै सवारीसाधनमा आधा घण्टामा पुग्न सकिने यो स्थल स्थानीय मात्र नभई बाहिरी पर्यटकका लागि पनि आकर्षक केन्द्र बन्दै गएको छ । मणिकाधामलाई आधुनिक धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हालसम्मका प्रयासलाई निरन्तरता दिनुपर्ने सरोकार भएकाहरूको जोड छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार