काठमाडौं । जेनजी विद्रोहपश्चात् गठित सरकारको मन्त्रिमण्डल विस्तारका लागि हिमाली आदिवासी सीमान्तकृत समुदायसम्बद्ध कर्णाली बासी ‘टासी ल्हान्जोम’सहित केही व्यक्तित्वहरू समावेश गर्ने सन्दर्भमा विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा चर्चा भएसँगै कर्णाली प्रदेशकी संयोजक सुप्रिया राज्यलक्ष्मी शाहीले २०८२ असोज २५ गत्ते जारी ‘मन्त्रिपरिषद् विस्तारसम्बन्धी समाचारप्रति जेन–जी कर्णालीको ध्यानाकर्षण’ शीर्षकको विज्ञप्ति र विभिन्न राजनीतिक व्यक्तित्वहरुको सार्वजनिक अभिव्यक्तिले सामाजिक सञ्जाल र संचार माध्यमहरुमा फैलाइएको कपोलकल्पित, तथ्यहीन, र अपमानजनक धारणाले पुर्याएको बहुल प्रभावप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
जेन–जी सहयोद्धा ‘टासी ल्हान्जोम’ज्यूको नेपाली नागरिकता, राष्ट्रियता र नेपाली पहिचानलाई लिएर उठाइएका भ्रमपूर्ण प्रश्नहरुको सन्दर्भमा हामीसँग कुनै समन्वय, छलफल, परामर्श र समझदारी नभएको स्पष्ट पार्दै कर्णाली संयोजकको हस्ताक्षारमा जारी उक्त विज्ञप्तिमा हाम्रो सामुहिक र संगठनात्मक संलग्नता र सहमति नभएको यस विज्ञप्तिमार्फत् स्पष्ट गराउन चाहन्छौं । यस प्रकारको अपमानजनक र निश्चित समुदायद्वेषी अभिव्यक्तिका कारण हुन गएको व्यक्तिगत र समुदायको भावनात्मक क्षतिप्रति दुःख व्यक्त गर्दछौं । नैतिक, वैचारिक, सैद्धान्तिक र व्यवहारिक रूपमा यस प्रकारको निश्चित समाज र निश्चित समुदायद्वेषी कार्यको समर्थन र पृष्ठपोषण नगरिने विश्वास दिलाउन चाहन्छौं ।
यो घटना इतिहासको लामो समयदेखि हिमाली, आदिवासी जनजाति, मधेसी, दलित, मुश्लिम, थारू र महिला भएकै कारण राज्यसरकारको भेदभावपूर्ण र अपमानजनक नश्लीय चिन्तन बोकेको वर्ग–समुदायबाट गरिँदै आएको अन्याय र विभेदको निरन्तरता हो । त्यसैगरी भिन्न संस्कृति, जातजाति, धर्म, भाषा , लिङ्ग, समुदाय, भूगोल, उत्पत्ति, र शारीरिक वनावटकै कारण विविध प्रकारका अन्याय, बहिष्करण, भेदभाव, मानहानी, लाञ्छना र अपमान भोग्दै आइरहेको एक प्रतिनिधि घटना परिघटना हो । उक्त प्रकृतिको यथार्थप्रति हामी सचेत र सम्वेदनशील छौं ।
यस सन्दर्भमा कर्णालीका संयोजकको नाममा जारी गरिएको उक्त विज्ञप्ति मानवीय, कानुनी, सामाजिक र नैतिक दृष्टिले पूर्ण रूपमा निन्दनीय छ । उक्त अभिव्यक्ति विभाजनकारी र स्वार्थी समूहहरूको प्रभाव र प्रेरणाबाट निर्देशित रहेको हाम्रो ठम्याई छ । हामी यस वक्तव्यमार्फत् सम्पूर्ण सरोकारवाला पक्षहरूलाई यस्तो किसिमका भेदभावपूर्ण र निश्चित समुदाय लक्षित उन्मुख अभिव्यक्तिहरूबाट संयमता अपनाउन र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछौं । साथै हामी हरेक समुदायबीच समानता, आपसी सम्मान, सदभाव र सह–अस्तित्वमा आधारित न्यायपूर्ण समाज निर्माणका लागि निरन्तर प्रतिबद्ध रहने प्रष्ट पार्दछौं ।
