विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ र घोराही सिमेन्टसहित ६ उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर प्रिमियम महसुल नतिर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गरेको छ। मंगलबार बिहानैदेखि प्राधिकरणले जगदम्बा स्टिलरिलायन्स स्पिनिङ मिल्सशिवम् सिमेन्टघोराही सिमेन्टअर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स का लाइन काटेको हो।

यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरे पनि प्राधिकरणलाई तिर्नुपर्ने थप प्रिमियम महसुल नतिरेका थिए। यस अवधिको बक्यौता रकम निकै ठूलो रहेको बताइएको छ। प्राधिकरणका अनुसार जगदम्बा स्टिल ले झण्डै १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङ मिल्स ले ७५ करोड ३७ लाख, शिवम् सिमेन्ट ले ७७ करोड ८८ लाख, घोराही सिमेन्ट ले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट ले ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्स ले ३२ करोड १० लाख रुपैयाँ बराबरको बक्यौता नतिरेका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, बक्यौता रकम तिर्न तिहारको सार्वजनिक बिदामा पनि काउन्टर सञ्चालन गरिएको छ। उनले भने, “उद्योगहरूले किस्तामा रकम बुझाउने सुविधा पनि पाउनेछन्। पहिलो किस्ता बुझाउने बित्तिकै काटिएको लाइन तुरुन्तै पुनःजोडिनेछ।”

प्राधिकरणले यसअघि उद्योगहरूलाई कात्तिक २ गतेसम्मको समयसीमा दिएको थियो। ती मध्ये १२ उद्योगले तोकिएको समयभित्र बक्यौता तिरेका छन् भने बाँकीले समयमै रकम नतिरेकाले लाइन काटिएको प्राधिकरणको भनाइ छ। विद्युत् महसुल तिर्नेबित्तिकै लाइन पुनः जडान गरिने बताउँदै प्राधिकरणले बाँकी उद्योगहरूलाई शीघ्र बक्यौता बुझाउन आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार