कञ्चनपुर । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घको आयोजनामा कञ्चनपुरको झलारीस्थित खुला मञ्चमा आजदेखि तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला सुरु भएको छ ।
स्थानीय अर्थतन्त्र सुदृढीकरण, आत्मनिर्भरता प्रवद्र्धन र सुदूरपश्चिमको समृद्ध भविष्य निर्माणका उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा स्थानीय संस्कृति प्रवद्र्धन गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार, हस्तकलाका सामग्रीको प्रदर्शन तथा स्थानीय मौलिक परिकार प्रदर्शनी गरिएको सङ्घका उपाध्यक्ष वासुदेव भण्डारीले बताए ।
योसँगै मेलामा कृषि, औद्योगिक उत्पादन, फुड फेस्टिभल र डकुमेन्ट्री प्रदर्शन, बाल–रमाइलो मेला, सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति राखिएको उनले उल्लेख गरे । आयोजकका अनुसार कात्तिक २५ गतेदेखि मङ्सिर ७ गतेसम्म लाग्ने मेलामा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला आयोजना गर्न रु ३९ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
मेलाको मुख्य प्रवद्र्धक शुक्लाफाँटा नगरपालिका रहेको छ । खर्चको व्यवस्थापन उद्योग वाणिज्य सङ्घ, स्थानीय तह, प्रायोजक र स्टल शुल्कबाट गरिनेछ । मेलाको सञ्चालनका लागि १८१ सदस्यीय मूल समिति र नौ विषयगत समिति गठन गरिएको छ । जिल्लाको मध्य भूगोलमा मेला आयोजना भइरहेको यस महोत्सवले स्थानीय उत्पादन, पर्यटन प्रवद्र्धन र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकले लिएका छन् ।