जेनजी नेतृत्व र सरकारबीच सम्झौता

काठमाडौं । जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा बुधबार हस्ताक्षर सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा एक समारोहबीच हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गरेपछि समारोहमा लामो समय तालीले गुञ्जिएको थियो । साथै अन्य जेनजी प्रतिनिधिहरूले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानुनमन्त्री अनिलकुमार सिन्हा, खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालको उपस्थिति थियो ।

यस्तै स्वतन्त्र पर्यवेक्षकका रूपमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, विद्याधर मल्लिक लगायतको उपस्थिति थियो । जेनजी आन्दोलनका घाइते, सहिद परिवार र विभिन्न समूहका जेनजी अगुवाहरूको पनि ठूलो संख्यामा उपस्थिति थियो । प्रधानमन्त्री सुशीला कार्कीले यो सम्झौतालाई इतिहासको एउटा कोशेढुंगाको संज्ञा दिँदै यसले भोलिको परिवर्तनलाई निर्देशित गर्ने बताइन् । नेपाल जेनजी आन्दोलनको गुरु राष्ट्र बन्न पुगेको र यहाँको प्रेरणाबाट अन्य मुलुकहरूमा पनि आन्दोलन भइरहेको उल्लेख गरिन् ।

यस दस्तावेजलाई स्वीकार्य बनाउन खोज्दा हस्ताक्षर गर्न केही ढिलाइ भएको जानकारी पनि दिइन् । उनले जेनजी आन्दोलनका क्रममा ज्याउन गुमाउने सहिद, घाइते योद्धा तथा सबै जेनजी युवाको योगदान इतिहासमा अभिलिखित राखिरहन पनि यो दस्तावेज निर्माण गरेको बताइन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार