काठमाडौं । नबिल बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्सस क्लबमा बिहान ११ः१५ बजे ४१ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जरमा जान वा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साथै गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । १ जना संस्थापक शेयरधनीको निर्वाचन गर्ने, गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।