रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन खुल्यो 

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज (पुस ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । यद्यपि, कम्पनीको प्रतिसेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ । अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा ९१३० को उपदफा ९१० बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

रिलायन्स स्पिनिङ्ग मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ । यस कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण हुन् भने प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन् । कम्पनीको मुल उद्योग ‘ए’ ईटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ भने शाखा उद्योग ‘बि’ ईटहरी नगरपालिका वडा नं। ४ दुहाबि, सुनसरीमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार