काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस ३ गतेदेखि निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (पुस ७ गते) अन्तिम दिन रहेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ। सो जलविद्युत आयोजनाबाट कम्पनीले २०८१ बैशाख ६ गतेदेखि नै विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।