
बागलुङ। अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुने गरेको छ । बिहानमा तुसारो पर्ने र दिउँसो सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी प्रभावित बनेको छ । यस्तो चिसोमा पनि यहाँका विद्यालय सञ्चालनमा छन् । केही विद्यालय घुम्ती पढाइका लागि बेँसी झरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालय अहिले पनि यहीँबाट सञ्चालित छन् ।
चिसोमा पढाइ हुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको छ । चिसोले विद्यार्थी र शिक्षक बिरामी पर्दा पठनपाठन प्रभावित हुने गरेको छ । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास मावि तथा छेन्तुङस्थित सिद्धबराह प्राविका विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित बनेको छ । ढोरपाटनमा बिहानमा बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिँदा पढाइ प्रभावित बनेको ज्योति विकास माविा प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । चिसोका कारण धारो र खोलामा पानी जमेको छ ।
अघिल्लो वर्ष पुस पहिलो सातादेखि माघ अन्तिम सातासम्म बिदा हुने गरे पनि यसपाली नगरपालिकाको वार्षिक क्यालेण्डरअनुसार चल्दा समस्या भएको प्रअ अदैले बताए। ढोरपाटनमा सञ्चालित जनवादी आधारभूत विद्यालय र सहलथान प्राथमिक विद्यालयले घुम्ती पठनपाठन सुरु गरेका छन् । जनवादीले ढोरपाटन–९ बिजौले र सहलथानले वडा नं ८ को नौघर टोलाबाट पढाइ सञ्चालन गरेका छन् ।
अघिल्ला वर्षमा बर्खे बिदाको समयमा पठनपाठन गर्ने र हिउँदमा विद्यालय बन्द गर्ने गरेका भए पनि यस वर्ष चिसोमा कठ्याङ्ग्रिँदै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रअ अदैले बताए । अघिल्लो वर्षदेखि कक्षा १० सञ्चालन गरेको भन्दै यो याममा पोखरामा लगेर ट्युसन पढाएको उनको भनाइ छ । गत वर्षदेखि कक्षा १० सञ्चालन भएको यस विद्यालयमा अहिले १६८ विद्यार्थी अध्ययनरत छन् ।
“चिसोले पानी जमेको छ, बालबालिका बिरामी पर्ने गरेका छन्, एकैदिन १५–२० विद्यार्थी बिरामी हुँदा पठनपाठनमा समस्या हुने गरेको छ, पोहोरपरार त यो बेलामा बिदा हुन्थ्यो”, उनले भने, “पहिले बर्खामा पढाउने र यो बेला बन्द गर्ने गर्थ्यौँ, हिउँदमा पठनपाठन गर्न थालेको यसपालि पहिलोपटक हो, तर निकै गाह्रो भइरहेको छ ।” चिसोका कारण हातखुट्टा कठ्याङ्ग्रिँदा पढाइप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा ओममाया विकले बताइन् । जाडोले विद्यालय जावतजावत गर्न गाह्रो हुने गरेको उनको भनाइ छ ।
जाडोका कारण पुस लागेपछि दुई तीन पटक बिरामी परेको विकले बताइन् । ढोरपाटनमा अधिकांश विपन्न वर्गका बालबालिकाले पढ्ने गर्छन् । ढोरपाटन नगरपालिकाका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्रप्रकाश सापकोटले विद्यालयसँग सहकार्य गरेर वैकल्पिक उपाय खोज्ने बताए। शिक्षकहरूकै राय लिएर वार्षिक क्यालेण्डर बनाएको उनको भनाइ छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू