
सुनसरी । नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसायमा लागेका छन् । विसं २०७५ मा स्थापना गरेको ‘खत्वे कृषि फार्म’ हाल उनी र उनको परिवारको मुख्य जीविकोपार्जनको आधार बनेको छ ।
प्रहरी सेवाका क्रममा छ महिना शान्ति सेनामा समेत सेवा गर्नुभएका खत्वेले अवकाशपछि नेपालमै केही गर्ने सोचका साथ कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेको बताए । फार्म सञ्चालनसँगै उनले स्कारपियो गाडी खरिद गरी करिब पाँच वर्ष आफैँ चलाउँदै यातायात व्यवसायसमेत गरेका थिए । पछि उक्त गाडी बिक्री गरे पनि कृषि फार्म सञ्चालन भने निरन्तर रूपमा अघि उनले बढाइरहेको बताए । हाल खत्वेले साढे तीन बिघा क्षेत्रफलमा कृषि फार्म सञ्चालन गरिरहेका छन् । फार्मभित्र पाँच माछापोखरी रहेका छन्, जहाँ रौ, कमन, भ्याकुर, सिल्भर, ग्रासलगायत प्रजातिका माछापालन गरिएको छ । “माछा बिक्रीका लागि बजार धाउनु पर्दैन”, खत्वेले भने, पोखरीमै व्यापारी आउँछन् र माछा निकालेर लैजान्छन् ।”
हाल पोखरीबाटै प्रतिकिलो रु तीन सयदेखि रु तीन सय ५० सम्ममा माछा बिक्री भइरहेको छ । सानो लगानीबाट सुरु गरिएको फार्मबाट अहिले वार्षिक सबै खर्च कटाएर रु ६ लाखदेखि रु सात लाखसम्म आम्दानी हुँदै आएको उहाँको भनाइ छ । फार्ममार्फत उहाँले एक जनालाई रोजगारीसमेत दिएका छन् । फार्म निकुञ्ज क्षेत्र नजिकै रहेकाले फिस क्याट, गोही, स्याललगायत वन्यजन्तुले माछा खाइदिने समस्या छ । यसबाट केही क्षति त हुन्छ, तर समग्रमा फार्म नाफामै छ । “यही फार्मबाट घरखर्च, परिवार पाल्न र छोराछोरी पढाउन पुगेको छ,” उनले भने ।
माछापालनसँगै खत्वेले कृषि फार्ममा लोकल कुखुरा, हाँस, परेवा, गाई तथा भैँसीसमेत पाल्दै आएका छन् । उनले माछाको भुरा कोसी गाउँपालिकाको स्थानीय बजारबाट खरिद गर्ने गरेको जानकारी दिए । हाल माछाको भुरा प्रतिकिलो रु चार सयदेखि रु पाँच सयसम्म पर्ने गरेको छ । खत्वे कृषि फार्ममा उत्पादन भएको माछा कोसी प्रदेशका प्रायः सबै जिल्लामा बिक्री हुँदै आएको छ । सुनसरी कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा बोरिङ र मोटर अनुदान उपलब्ध गराएकाले फार्म सञ्चालनमा थप सहजता पुगेको खत्वेले बताए । पछिल्लो समय युवा ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति छ । “मलाई अवकाशपछि विदेश जाने सोच कहिल्यै आएन । नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास आयो, त्यसपछि फार्म दर्ता गरेर काम सुरु गरेँ,” उनले भने । नेपालमै सम्भावना प्रशस्त छ । स्थानीय सरकार र राज्यले किसानलाई नियमित अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके युवालाई विदेश पलायन हुनुपर्ने अवस्था आउँदैन । नेपालमै अवसर र रोजगारी दुवै सम्भव रहेको खत्वेको भनाइ छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व