काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि आम सर्वसाधारणका लागि बिक्र खुला हुने भएको छ । कम्पनीले आज (माघ २२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
अब भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।