काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन्। संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्न विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको निम्तोमा शेरचनले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण सुरु गर्न लागेका हुन्।
शेरचनले हालै जारी गरेको ‘बृहत् एकताका लागि अपील’ पछि एनआरएनए वृत्तमा चुनावी माहोल थप तातिएको छ। उनले आफ्नो अपिलमा व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्न आग्रह गर्दै व्यक्तिगत अडान र समूहगत स्वार्थभन्दा माथि उठेर प्रवासमा रहेका नेपालीहरूको साझा घरलाई बलियो बनाउन सबै पक्षलाई आह्वान गरेका छन्। शेरचनको यो सन्तुलित र मध्यमार्गी अडानका कारण विश्वभरका एनसीसीहरूले उनलाई आफ्नो देशमा संवादका लागि आमन्त्रण गरेका हुन्।
शेरचनको यो भ्रमण विशेषगरी एनआरएनएभित्र डेलिगेट्स चयन र निर्वाचन प्रणालीमा देखिएका असमझदारी सुल्झाउन केन्द्रित रहनेछ। सहमति र संवादको विकल्प छैन भन्दै उनले प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्। शेरचनले संसारभरका सदस्यहरूले सहज रूपमा मतदान गर्न पाउने पारदर्शी अनलाइन वा भौतिक मतदान प्रक्रिया सुनिश्चित गर्नुपर्ने मागलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्।
आगामी दुई हप्ताको कार्यतालिका अनुसार आफूले अमेरिका रिजनबाट यात्रा सुरु गर्न लागेको उनले बताए । जसअनुसार अमेरिका र क्यानडाका विभिन्न शहरहरूमा गैरआवासीय नेपालीहरूसँग साक्षात्का र गरिसकेपछि उनी ओसियानिया, मध्यपूर्व र युरोपका विभिन्न देशहरू पुग्नेछन्। युरोपको भ्रमण सम्पन्न गरी उनी एसियाका एनसीसीहरूसँग छलफल गर्दै निर्वाचनका लागि नेपाल आइपुग्ने योजना रहेको छ।
पछिल्लो समय एनआरएनएको निर्वाचनलाई लिएर देखिएको तिक्तताका बीच शेरचनको यो सक्रियता र एकताको अपिललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उनले निर्वाचनलाई विवादको नभई ‘एकताको महाधिवेशन’ बनाउनुपर्ने अडान राख्दै आएका छन्। शेरचनको यो मध्यमार्गी भूमिका र सबै पक्षलाई समेट्ने प्रयासले गर्दा नै विभिन्न देशका एनसीसीहरूले उनलाई एकताको अभियन्ताका रूपमा स्वीकार गर्दै स्वागतको तयारी गरेका हुन्। एनसीसीहरूले उनको विस्तृत भ्रमण कार्यतालिकालाई अन्तिम रूप दिइरहेका छन् । यसबारे चाँडै विस्तृतमा सार्वजनिक गरिने बताइएको छ। एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा हुने तय भएको छ ।