काठमाडौं । यो साता सुनको मूल्य सामान्य बढेको छ । अघिल्ला हप्ताहरुको जस्तो उच्चदरको वृद्धि र उच्च दरको गिरावट यो साता देखिएनन् । गत फागनु १ गते शुक्रबारयता फागनु ८ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य १ हजार २०० रुपैयाँले मात्र बढेको छ ।
अघिल्ला हप्ताहरुमा २० देखि ३० हजारसम्म बढ्ने गरेको सुनको मूल्य यो साताभने त्यति धेरै उतारचढाब देखिएन् । यो साता नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाखभन्दा माथिकै मूल्यमा कारोबार भइरहेको हो ।
फागनु १ गते ३ लाख ३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, फागुन ३ गते सुनको मूल्य बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको थियो । अघिल्लो दिनको तुलनमा त्यसदिन प्रतितोला सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेको थियो । त्यस्तै, फागुन ४ गते प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ, फागुन ५ गते ३ लाख १ हजार ९०० रुपैयाँ, फागुन ६ गते ३ लाख ४०० रुपैयाँ र फागुन ७ गते ३ लाख ४ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।