दार्चुला। प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८८५ मत प्राप्त गरेका थिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत प्राप्त गरे। ९२ हजार ९ सय ४८ मतदाता रहेको दार्चुलामा ४९ हजार ९६८ मत खसेको थियो ।
पूर्वमन्त्री ठगुन्ना दार्चुलाबाट तेस्रो पटक निर्वाचित भए । यसअघि उहाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका ठगुन्ना २०७८ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत बनेका थिए ।दार्चुलामा प्रतिनिधि सभा सदस्यको लागि ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।