काठमाडौं । पर्यटन व्यवसायीहरुले सनकको भरमा पर्यटन नीति, नियमहरुमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो-नेपाल) को १८औँ वार्षिक साधारण सभामा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा पर्ने दिर्घकालिन असरलाई मध्यनजर गर्दै सोचविचार पुर्याएरमात्रै पर्यटन नीति, नियममा परिवर्तन गर्न सरकारलाई चेतावनी दिएका हुन् ।
सभामा सोट्टो नेपालका अध्यक्ष मानबहादुर शाहीले नेपालको पर्यटन क्षेत्र अपार सम्भावनाले भरिएको धारणा राखे । हिमाल, पहाड, तराई, विविध संस्कृति, सम्पदा, साहसिक पर्यटन, धार्मिक पर्यटन तथा ग्रामीण पर्यटन जस्ता विषयले नेपाललाई विश्व पर्यटन बजारमा विशेष स्थान दिलाउने भन्दै यसको सदुपयोगमा लाग्नुपर्नै भनाइ राखे । यी सम्भावनालाई व्यवहारमा परिणत गर्न निजी क्षेत्र, सरकार र स्थानीय समुदायबीच घनिष्ट सहकार्य आवश्यक रहेको उनले बताए । नेपालमा जेनजी सरकारबाट हाल स्थायी सरकार निर्माण भएकोमा केही आशा र भरोशा गर्ने अवस्था सृजना भएको उनले बताए । अध्यक्ष शाहीले पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागि स्थायी प्रकृतिको नीति लिन सरकारलाई सुझाए ।
सभामा संस्थाका निवर्तमान अध्यक्ष भुवन बहादुर पाण्डेले जेनजी आन्दोलनपछि बनेको सरकारले पर्यटनसँग सम्बन्धित नीति बनाउँदा दिर्घकालसम्म त्यसको असर के पर्दछ भनेर ध्यान दिन सरकारलाई सुझाए । पाण्डेले पर्यटन नीति, नियम बनाउँदा सनकको भरमा लागु गर्ने र सनकको भरमा हटाउने काम नगरियोस भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । त्यसैगरी पर्यटन प्रवर्द्धनको सहकार्यमा नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण गराए । सोट्टोका पूर्व अध्यक्ष यम बहादुर खड्काले साना व्यवसायीलाई भ्याटको समस्या रहेको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले नयाँ परिस्थिति अनुसार पर्यटनमा नयाँ समस्या निम्तिएको र त्यसको समाधानको उचित कदम चाल्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुमन घिमिरेले मध्यपूर्व युद्धको चपेटामा परेको नेपाली पर्यटन उद्योगमा त्यसैबाट अवसर सिर्जना गर्न सकिने धारणा राखे । यसतर्फ सोच्न उनले व्यवसायीलाई आग्रह गरे । अहिले शक्तिशाली सरकार आएको र यसले सबैमा आशा जगाएको उनको भनाइ थियो । उनले सोट्टो नेपालका कार्यक्रमहरुलाई बोर्डको आगामी बजेटमा समावेश गराइने भनाइ राखे ।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष दिनेश बस्नेत, महासचिव कुमार पराजुली, कोषाध्यक्ष मदुसुदन नेपाल लगायत उपस्थित वक्ताहरुले पर्यटन उद्योग अर्थतन्त्रको आधार रहेको भन्दै नयाँ रणनीति तय गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । साधारण सभा शनिबार अबेर सम्पन्न भएको हो । सभाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र नयाँ तथा ओझेलमा परेका गन्तव्यहरुको प्रचार-प्रसार लागि बुँदागत नयाँ रणनीतिहरु पनि सार्वजनिक गरेको छ ।