सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ ८, ९ र १० गते वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको हो ।

सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा मूल आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले कर्णालीलाई नेपालको उदीयमान पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखेर सम्मेलनको आयोजना गर्न लागिएको बताए । “कर्णालीमै पहिलो पटक हुन लागेको उक्त सम्मेलनले यहाँको पर्यटकीय गन्तव्यको प्रचारप्रसार, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उजागर गर्न विशेष योगदान पुर्‍याउने छ”, उनले भने, “साथै यसले लगानी आकर्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा व्यावसायिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेका छौँ । कर्णालीका होमस्टे (घरबास) देखि ठूला होटलसम्म तथा रारादेखि शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जसम्मका पर्यटन प्याकेजलाई सिधा बजारसँग जोड्नेछ ।”

सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यवसायी, लगानीकर्ता, ट्राभल भ्लगर, सञ्चारकर्मी, ट्राभल एजेन्सी, टुर अपरेटर, होटल तथा आतिथ्य ब्रान्डका प्रतिनिधिको सहभागिता रहने संयोजक शाहीले जानकारी दिए । यसबाट भारतीय बजारसँग कर्णालीका पर्यटन प्याकेज तथा सेवा प्रत्यक्ष रूपमा जोडिने उनको भनाइ छ ।

संयोजक शाहीका अनुसार सांस्कृतिक विविधता, धार्मिक सम्पदा, साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य तथा अद्वितीय गन्तव्यको प्रचारप्रसार तथा कर्णाली विश्वसामु चिनाउने लक्ष्य सम्मेलनले राखेको छ । व्यवसायीदेखि व्यवसायी बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, यहाँका होटल, दैलेखको पञ्चकोशी, पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रलगायत सांस्कृतिक एवं धार्मिक सम्पदाको भ्रमण तथा अवलोकन, प्राविधिक तथा समूहगत छलफल कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

यस्ता गतिविधिले पर्यटन क्षेत्रका सरोकारवालाबीच अनुभव आदानप्रदान, व्यावसायिक साझेदारी तथा दीर्घकालीन सहकार्यको वातावरण निर्माण गर्ने बताउँदै संयोजक शाहीले यो सम्मेलन केबल औपचारिक भेला वा छलफलमा मात्र सीमित नभई खरिदकर्ता र बिक्रेताबीच प्रत्यक्ष संवाद हुने जनाए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार