
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो । तर अहिले त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिन पाइने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सोचका साथ २०६७ सालमा जापान र बेलायतको सेवा–सुविधा त्यागेर स्वदेश फर्किएका दुई दाजुभाइले सुरु गरेको ‘गण्डकी ट्राउट फार्म’ अहिले मनग्य आम्दानी र रोजगार सिर्जनाको आधार बनेको छ ।
भारतीय सेनाबाट अवकाशप्राप्त भई लामो समय जापान बसेका कास्की रिभानका अमृत गुरुङ र धान्द्रुकमा जन्मी हङ्कङ तथा बेलायतको व्यापार व्यवसाय छाडेर नेपाल फर्किएका लच्छीन गुरुङले फार्म सुरु गरेका थिए । उनीहरूको साझा सोच थियो—विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमै उपयोग गर्ने ।
आफ्नै गाउँठाउँमा केही नयाँ व्यवसाय गर्ने अठोटका साथ नेपाल फर्किएका उनीहरूले पोखरा र आसपासमा ट्राउट माछापालनको सम्भावना खोजे । अन्ततः माछापुच्छ्रे–३ स्थित मूलको चिसो पानी र न्यूनतम १६ तथा अधिकतम १८ डिग्री सेल्सियस तापक्रम भएको स्थान ट्राउट माछाका लागि उपयुक्त देखिएपछि २२ रोपनी जग्गा खरिद गरेर व्यवसाय सुरु गरेका थिए ।
दुईवटा पोखरीबाट सुरु गरिएको गण्डकी ट्राउट फार्म अहिले विस्तार हुँदै ६० वटा पोखरीसम्म पुगेको छ । तत्कालीन गण्डकी अञ्चलमै पहिलोपटक सुरु गरिएको यो ट्राउट फार्म अहिले सफल उदाहरणका रूपमा स्थापित भएको छ । विदेशमा अवसर खोज्ने युवाका लागि पनि यो फार्म प्रेरणाको स्रोत बनेको छ ।
विशेषगरी ट्राउट माछा ओमेगा–३ पोषकतत्वले भरिपूर्ण हुन्छ । नरम काँडा भएका कारण ज्येष्ठ नागरिक र बालबालिकालाई पनि खान सजिलो हुने भएकाले स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यही कारणले पछिल्लो समय पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्न थालेको छ ।
दैनिक चार सयभन्दा बढी पाहुना यहाँ आउने गर्छन् । शनिबार भने यो संख्या एक हजार ५०० नाघ्ने गरेको सञ्चालक लच्छीन गुरुङले बताए ।
फार्ममा एक किलो माछा पकाएको एक हजार ७०० रुपैयाँ लिने गरिएको उनले बताए । “रेष्टुरेन्टसँगै आरामदायी कटेजको पनि व्यवस्था गरिएको छ । राति बस्ने पाहुना बढे पालको व्यवस्था पनि गरिन्छ, जसले पर्यटक थप आकर्षित भएका छन्,” उनले भने ।
वार्षिक तीन करोड रुपैयाँबराबरको २५ टन माछा उत्पादन हुने गरेको उनले बताए । ६६ वर्षीय लच्छीनका अनुसार फार्ममा अहिलेसम्म सात करोड रुपैयाँ लगानी भइसकेको छ । यहाँ २४ जनाले प्रत्यक्ष र १० जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।
माग अत्यधिक भएपछि आफ्नै उत्पादनले मात्र नपुग्दा आसपासका अन्य फार्मबाट पनि माछा खरिद गर्ने गरिएको उनले बताए । यसबाहेक भुरा उत्पादनका लागि धान्द्रुकमा २५ लाख रुपैयाँ लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको छ ।
अमृत अहिले ६५ वर्षका छन् । उनले व्यवसायलाई निरन्तरता दिन परिवारको पूर्ण सहयोग रहेको बताए । उनका अनुसार नेपाल सरकार तथा विभिन्न स्वदेशी र विदेशी संघसंस्थाबाट पनि राम्रो सहयोग मिलेको छ ।
पोखरा आउने दुई प्रतिशत पर्यटकलाई मात्र पनि उक्त क्षेत्रमा पुर्याउन सके पर्यटकको बसाइ लम्ब्याउन र थप रोजगारी सिर्जना गर्न सकिने उनीहरूको भनाइ छ ।
पोखरा पुरानो बजार महेन्द्रपुलबाट नदीपुर, बगर, लामाचौर, अकला र पुरन्चौर हुँदै करिब १७ किलोमिटर दूरीमा रहेको यो स्थान अहिले केवल व्यवसाय मात्र नभई आत्मनिर्भरता र प्रेरणाको केन्द्र बनेको छ । फार्ममा परम्परागत लिङ्गे पिङ, चारपिर्के पिङ, पौडीपोखरीलगायत मनोरञ्जनका सामग्री पनि राखिएका छन् । त्यसैले सामाजिक सञ्जालमा रमाउने युवापुस्ताको समेत आकर्षण बढ्दो छ ।













समाचार
इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान
अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते
माउन्ट एभरेष्ट पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन