
काठमाडौं । कोदोजन्य बाली प्रवर्धनमा कलम चलाउँदै आएका पाँच जना कृषि पत्रकारलाई सम्मान गरिएको छ । सोमबार सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले प्रमाणपत्र, नगद पुरस्कार र दोसल्ला ओढाएर पत्रकारहरूलाई सम्मान गरेका हुन् ।
अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त आयोजनामा राष्ट्रिय कोदो दिवसको अवसर पारेर ‘कोदो समाचार लेखन पुरस्कार–२०८२’ अन्तर्गत विभिन्न तीन विधामा पत्रकारहरूलाई सम्मान गरिएको हो । जसअनुसार कर्णालीमिसन डटकमका संवाददाता सागर परियारले १५ हजार रुपैयाँसहित कोदो समाचार लेखन सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेका हुन् । जुम्ला र कर्णाली प्रदेश केन्द्र बनाएर पत्रकारिता गर्दै आएका परियारलाई कोदोजन्य बाली प्रवर्धनमा पु¥याएको योगदानका लागि सम्मान गरिएको हो ।
यस्तै, बिजमाण्डू डटकमकी संवाददाता सरला सुवेदी र कारोबार दैनिककी संवाददाता कौशिला कुँवरलाई जनही १०–१० हजार रुपैयाँसहित कोदो समाचार लेखन उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ । उनीहरूले कोदोको उत्पादन, बजार र आर्थिक महत्वलाई केन्द्रमा राखेर निरन्तर समाचार लेखन गरेको आयोजकले जनाएको छ ।
कोदो समाचार लेखन प्रोत्साहन पुरस्कारतर्फ नेपालखबर डटकमका कर्णाली संवाददाता दिनेश कुमार बुढा र डडेल्धुराको रेडियो अमरगढीकी कार्यक्रम संयोजक भावना पौडेललाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ । उनीहरू सुर्खेत, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा रहेर कृषि र किसानका मुद्दामा पत्रकारिता गर्दै आएका छन् । कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. परियारले पोषणयुक्त कोदोजन्य बाली प्रवर्धनका लागि कोदो दिवस मनाइनु सकारात्मक पहल भएको बताए । कृषि पत्रकारलाई सम्मान गर्ने कार्यक्रमले रैथाने बालीको महत्व स्थापित गर्न सहयोग पुर्याउने उनको भनाइ थियो । सरकारले कोदोजन्य बालीलाई प्राथमिकतामा राख्दै नीतिगत तथा कार्यक्रमगत रूपमा प्रवर्धन गर्ने तयारी गरिरहेको मन्त्री परियारले जानकारी दिए ।
अनाजका अध्यक्ष किरण आचार्यले कोदोजन्य बाली केवल खाद्य सुरक्षाको विषय मात्र नभई संस्कृति, स्वास्थ्य र साना किसानको जीविकासँग जोडिएको बाली भएको बताए । कोदोका विषयमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको सुरुआत गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। कृषि पत्रकारितामार्फत रैथाने बालीप्रति नीतिनिर्माता र आम जनताको ध्यानाकर्षण गराउनु अनाजको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले आगामी वर्षदेखि मन्त्रालयको तर्फबाट पनि कृषि पत्रकारलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले तथ्यमा आधारित र अनुसन्धानमुखी कृषि पत्रकारितालाई मन्त्रालयले प्रोत्साहन गर्ने बताए। अनाजको पहलमा गत वर्षदेखि कोदोजन्य बालीमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो । गत वर्ष पनि छ जना पत्रकारलाई कोदो समाचार लेखन पुरस्कार प्रदान गरिएको थियो । त्यतिबेला हिमालय टाइम्स दैनिकका वरिष्ठ संवाददाता लेखनाथ पोखरेल, अन्नपूर्णपोष्ट दैनिककी वरिष्ठ संवाददाता ममता थापा, मदन पौड्याल, आर्थिक अभियान दैनिकका संवाददाता प्रशान्त खड्का, टक्सारन्युज डटकमका संवाददाता रबि थापा र रातोपाटी डटकमकी संवाददाता सरिता थारु सम्मानित भएका थिए ।
यसअघि अनौपचारिक रूपमा मनाइँदै आएको कोदो दिवस यस वर्षदेखि औपचारिक र राष्ट्रिय रूपमा मनाउन थालिएको हो । अनाज र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त आयोजनामा २०७७ सालदेखि साउन १५ लाई सांकेतिक रूपमा कोदो दिवस मनाइँदै आएको थियो । यस वर्ष भने सरकारले अपनत्व लिँदै साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा घोषणा गरेको छ । अब प्रत्येक वर्ष साउन १६ गते कोदो दिवस मनाइने भएको छ ।
राष्ट्रिय कृषक समूह महासंघ रैथाने उत्पादनको प्रवर्धन र साना किसानको अधिकारका लागि काम गर्ने राष्ट्रिय सञ्जाल हो भने अनाज कृषि सञ्चार प्रवर्धनमा सक्रिय सञ्चारकर्मीहरूको साझा संस्था हो । कार्यक्रममा सम्मानित पत्रकारहरूले यस्ता सम्मानले कृषि पत्रकारितामा थप जिम्मेवारी र ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन