
इलाम । केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्रै उत्पादन हुने बाली थियो । थोरै जग्गामा लगाइने मकैले परिवारको आवश्यकता पूरा गरे पनि त्यसबाट आम्दानी हुने कल्पना उनले गरेका थिएनन् । तर अहिले अवस्था फेरिएको छ । गाउँपालिकाको अनुदान, उन्नत जातको बीउ र प्राविधिक सहयोग पाएपछि उहाँले आठ कट्ठा जमिनमा व्यावसायिक मकैखेती विस्तार गरेका छन् ।
‘पहिला घरायसी प्रयोजनका लागि मात्रै थोरै मकै लगाउने गर्दथ्यौँ’, उनी भन्छन्, ‘अहिले गाउँपालिकाले उन्नत जातको बीउमा सहयोग गर्न थालेपछि व्यावसायिक खेती सुरु गरेको हुँ ।’ अशोक राईका लागि मात्रै होइन, इलामको चुलाचुली गाउँपालिकाका सयौँ किसानका लागि अहिले मकैखेती आम्दानीको भरपर्दो स्रोत बनेको छ । स्थानीय सरकारले सञ्चालन गरेको ‘कृषि जोन कार्यक्रम’ले किसानलाई अनुदान, प्राविधिक सेवा र बजारसँग जोड्दै गाउँपालिकालाई व्यावसायिक मकै उत्पादनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्दै लगेको छ ।
कृषि उत्पादन वृद्धि गर्दै किसानको आयआर्जन बढाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ मा ५० प्रतिशत लागत साझेदारीमा ‘टिएक्स–३६९’ जातको हाइब्रिड मकैको बीउ वितरण गरेको थियो । कार्यक्रमबाट चुलाचुलीका ७०० किसान लाभान्वित भएका छन् । उनीहरूलाई कुल ६ हजार ४५६ किलोग्राम बीउ वितरण गरिएको छ भने प्रत्येक किसानले बढीमा १६ किलोग्रामसम्म बीउ प्राप्त गरेका छन् ।
गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख सुवास दाहालका अनुसार वडा नम्बर १ देखि ६ सम्मका किसानका लागि ४१ लाख ९६ हजार ४०० बराबरको बीउ वितरण गरिएको हो । यसमध्ये २० लाख ९८ हजार २०० गाउँपालिकाले अनुदान दिएको थियो भने बाँकी रकम किसानले लागत साझेदारी गरेका थिए ।
दाहालका अनुसार अहिले चुलाचुलीमा १०७ हेक्टर क्षेत्रफलमा व्यावसायिक मकैखेती भइरहेको छ । यहाँबाट वार्षिक करिब २४२ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ । उत्पादन बढेसँगै किसानको आम्दानीमा पनि उल्लेखनीय सुधार देखिएको उनको भनाइ छ । ‘हामीले बीउ वितरणमा मात्र सीमित नभई प्राविधिक परामर्श, तालिम, कृषि सामग्री र यान्त्रीकरणका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ’, दाहालले भने, ‘यसले उत्पादन लागत घटाएको छ भने उत्पादकत्व पनि बढाएको छ ।’
चुलाचुली–४ का किसान टिके बुङक्षेन राईका लागि मकै खेती अहिले परिवारको मुख्य आयस्रोत बनेको छ । उनका अनुसार अन्य बालीको तुलनामा मकैबाट छिटो र राम्रो आम्दानी हुन्छ । ‘मकै बिक्रीबाट आएको पैसाले घरखर्च चलाउन र छोराछोरीको पढाइमा धेरै सहयोग पुगेको छ’, उनी भन्छन्, ‘अरू बालीभन्दा यसमा मेहनतको प्रतिफल राम्रो पाइने रहेछ ।’
व्यावसायिक खेती विस्तारसँगै गाउँपालिकाका धेरै बाँझो जमिन पुनः खेतीयोग्य बनेका छन् । अहिले गाउँका बारीहरू लहलहाएका मकैका बोटले हराभरा देखिन्छन् । कतिपय किसानको मकै पाकिसकेको छ भने कतिपय खेतमा पाक्ने क्रममा छ ।
मकैखेतीको विस्तारले गाउँमा रोजगारीका अवसर पनि सिर्जना गरेको छ । खेतबारीमा श्रमिकको माग बढेको छ भने वैदेशिक रोजगारीबाट फर्किएका केही युवाले समेत कृषि व्यवसाय रोज्न थालेका छन् । स्थानीय सरकारले कृषि क्षेत्रमा गरेको लगानीले गाउँमै आयआर्जनको सम्भावना बढाएको किसानहरू बताउँछन् ।
उत्पादन बढे पनि बजारको अभाव भने किसानले भोग्नुपरेको छैन । किसान उपेन्द्र पौड्यालका अनुसार व्यापारीहरू मकै खरिद गर्न गाउँमै आउने भएकाले बिक्रीका लागि चिन्ता लिनु पर्दैन । ‘उत्पादन भएको मकै घरबाटै बिक्री हुन्छ, यहाँको मकै झापा, मोरङ र सुनसरीलगायतका बजारमा पुग्छ’, उनले भने ।
पशुपालन व्यवसाय विस्तारसँगै दाना उद्योगबाट मकैको माग बढिरहेको किसानको अनुभव छ । स्थानीय बजारसँगै औद्योगिक माग बढ्दा उत्पादन बिक्री हुने निश्चित भएपछि किसानको व्यावसायिक खेतीप्रतिको विश्वास अझ बलियो बनेको छ ।
किसान सञ्जीव मगरका अनुसार पहिले वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले मात्र मकै लगाइन्थ्यो । उनले भने, ‘अहिले बजारको माग हेरेर खेती विस्तार गरेका छौँ, ‘आम्दानी हुने निश्चित भएपछि खेतीप्रतिको दृष्टिकोण नै बदलिएको छ ।’ कृषि प्राविधिकहरूका अनुसार चुलाचुलीको हावापानी, उर्वर माटो र पर्याप्त वर्षा मकैखेतीका लागि अनुकूल छन् । मकै समुद्री सतहदेखि करिब १३ हजार फिट उचाइसम्म खेती गर्न सकिने बाली हो । राम्रो उत्पादनका लागि २१ देखि २७ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ भने पानी नजम्ने मलिलो दुमट माटो यसको खेतीका लागि राम्रो हुन्छ ।
मकै नेपालकै दोस्रो प्रमुख खाद्यान्न बाली हो । विशेषगरी पहाडी क्षेत्रमा यो मुख्य खाद्य बालीका रूपमा प्रयोग हुँदै आएको छ । पछिल्लो समय यसको उपयोग परम्परागत खानामा मात्र सीमित छैन । भुटेको, उसिनेको वा पोलेको मकैसँगै ढिँडो, रोटी, चिउरा, हलुवा, केक, कुकिज, चिप्सलगायत विभिन्न परिकारमा यसको प्रयोग बढ्दो छ ।
पोषणका हिसाबले पनि मकैलाई महत्वपूर्ण खाद्यान्न मानिन्छ । कृषि प्राविधिकका अनुसार यसमा प्रशस्त फाइबर पाइने भएकाले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत पुग्छ । नियमित सेवनले कब्जियत र एसिडिटीको समस्या कम गर्न सहयोग पुग्ने, कोलेस्ट्रोल नियन्त्रणमा भूमिका खेल्ने तथा मुटु रोगको जोखिम घटाउन मद्दत गर्ने विश्वास गरिन्छ । फोलिक एसिड, कपर, म्याग्नेसियम, आइरन र फस्फोरसजस्ता पोषक तत्व भएकाले गर्भवती महिला तथा हड्डीको स्वास्थ्यका लागि पनि मकै उपयोगी मानिन्छ ।
चुलाचुली गाउँपालिकाले मकै खेतीसँगै अन्य कृषि बालीको विकासलाई पनि प्राथमिकता दिएको छ । सिमलतरुल, आलु, अदुवा, बेसार, तरकारी तथा फलफूलखेती विस्तारका कार्यक्रम सञ्चालन भइरहेका छन् । किसानलाई बीउबिजन, सिँचाइ सुविधा र कृषि औजार उपलब्ध गराइनुका साथै आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गरिएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत चुलाचुली–२ मा ६ लाखको आलु पकेट कार्यक्रम तथा वडा नम्बर १ र ५ मा १२ लाखको अदुवा–बेसार पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै ५० प्रतिशत लागत साझेदारीमा रु आठ लाख बराबरका कृषि सामग्री तथा यान्त्रीकरणका उपकरण वितरण गरिएको कृषि विकास शाखाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार कृषि क्षेत्रलाई आगामी दिनमा पनि स्थानीय विकासको मुख्य आधारका रूपमा अघि बढाइनेछ । ‘कृषि उत्पादनसँगै किसानको आयआर्जन वृद्धि र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्यका साथ कृषि अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेछौँ’, उनले भने, ‘त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौँ ।’
अनुदान, प्रविधि, बजार र किसानको बढ्दो आत्मविश्वासले चुलाचुलीमा व्यावसायिक मकैखेतीको नयाँ सम्भावना उजागर गरेको छ । परम्परागत निर्वाहमुखी खेतीबाट व्यवसायमुखी कृषितर्फको यात्रा अहिले यस गाउँपालिकाको पहिचान बन्दै गएको छ । यहाँका हराभरा मकैका बारीहरूले केवल राम्रो उत्पादनको सङ्केत मात्र दिएका छैनन्, गाउँको बदलिँदो आर्थिक भविष्यको झल्को पनि दिएका छन् ।












समाचार
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ
पर्यटन, कृषि र स्थानीय उद्योग प्रवर्द्धनमा टेम्केमैयुङको जोड
वर्षा नहुँदा रौतहटका खेत बाँझै
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते