खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ । खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ ठुलो चुनौती बन्छ ।

यसै भूगोलमा नेपाली सेनाले सञ्चालन गरेको मेडिकल भने खप्तड पुग्ने सबैका लागि भरोसाको केन्द्र बन्दै गएको छ । समरजित गुल्मले सञ्चालन गरेको मेडिकलबाट दैनिकजसो बिरामीले निःशुल्क स्वास्थ्य सेवा लिने गरेका छन् । सामान्य स्वास्थ्य समस्या लिएर आउने गोठालादेखि घुम्न आउने पर्यटकसम्म सबैका लागि उपचारको भरपर्दो गन्तव्य बनेको छ– मेडिकल ।

बझाङको खप्तडछान्ना गाउँपालिका–६ की कला थापा सामान्य स्वास्थ्य समस्या हुँदा पनि उपचार गर्न खप्तड पुग्ने गरेको बताउँछिन् । गाउँ नजिकै स्वास्थ्य चौकी भए पनि आफूलाई सेनाको मेडिकलप्रति बढी विश्वास लाग्ने उनको अनुभव छ । “ठुलो बिरामी भएर होइन । सानोतिनो बिरामको उपचार गर्नुपर्दा सधैँ खप्तड पुग्छु”, थापा भन्छिन्, “खप्तडको दबाइले छिट्टै सन्चो हुन्छ ।” उक्त मेडिकलमा औषधि मात्रै होइन, स्वास्थ्यकर्मीबाट राम्रो परामर्श पनि पाइने गरेको उनी बताउँछिन् ।

खप्तडछान्नाकै तेजेन्द्र खड्काको अनुभव पनि उस्तै छ । खप्तडको स्वास्थ्योपचारप्रति उनको विश्वास बलियो छ । “उस्तै खालको औषधि पाए पनि खप्तडमा परामर्श असाध्यै राम्रो लाग्छ”, खड्का भन्छन्, “त्यसैले नजिकैको स्वास्थ्य चौकी छाडेर सानोतिनो बिराम लागे खप्तड पुगिहाल्छु । घरमा अरू बिरामी हुँदा पनि खप्तड लैजान्छौँ ।” हिउँदबाहेक वर्षायाममा छान्नाका विभिन्न गाउँका मान्छे नै खप्तड उपचारका लागि पुग्ने गरेको खड्काले बताए ।

पर्यटकका लागि भरपर्दो सहारा

खप्तडमा वर्षभरि पर्यटकको आवागमन भइरहन्छ । धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिएको खप्तडमा विशेष गरी गर्मीयाममा पर्यटकको सङ्ख्या बढ्ने गर्छ । खप्तडको उचाइ, चिसो मौसम र लामो पैदलयात्राका कारण कतिपय पर्यटकलाई स्वास्थ्य समस्या देखिएपछि मेडिकल पुग्ने गर्छन् । लेक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, शरीर कमजोर हुनेलगायतका समस्या लिएर मेडिकल पुग्ने गरेको नेपाली सेनाले जनाएको छ ।

खप्तडछेडेदह गाउँपालिका–१ का धर्म रोकायाका लागि खप्तडमा उपचारको विषय आउँदा नेपाली सेनाको मेडिकल पहिलो विकल्प हो । “खप्तडमा आउँदा उपचारका लागिमात्र होइन, दुःखसुख पर्दा पनि नेपाली सेना नजिकको साथीजस्तो बनेको छ”, रोकाया भन्छन्, “पर्यटकका लागि त सेनाको मेडिकल निर्विकल्प जस्तै छ । कसैलाई चोटपटक लाग्दा पनि सहारा सेना नै छ ।”

खप्तडजस्तो लेकाली तथा दुर्गम क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पाउनु आफैँमा ठुलो राहत हो । लेकमा स्वास्थ्य समस्या हुँदा फर्कन पनि कठिन हुन्छ । कतिपय अवस्थामा मौसम र भौगोलिक कठिनाइले झर्न सम्भव हुँदैन । त्यस्तो बेला सेनाको मेडिकलले स्थानीय र पर्यटकलाई तत्काल उपचार र आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउँदै आएको समरजित गुल्मका गुल्मपति विजय खत्रीले बताए ।

मेलामा हजारौँलाई सेवा

हरेक वर्ष खप्तडमा लाग्ने गङ्गादशहरा मेला, उकालु पूर्णिमामा लाग्ने खापर जगन्नाथ मन्दिर मेला तथा खापर जगन्नाथ ओरालु मेलामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

यी मेलामा विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन् । भिडभाड हुने समयमा स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई ध्यानमा राखेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमा मात्रै हरेक वर्ष हजारौँ नागरिकले स्वास्थ्य सेवा लिने गरेको समरजित गुल्मले जनाएको छ ।

शुक्रबार लागेको पूर्णिमा मेलामा मात्रै डेढ सय जनालाई निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गरेको थियो । “यो वर्ष मौसम प्रतिकूल हुँदा कम श्रद्धालु आए । सफा मौसम भए धेरै नै हुन्थे । उपचारमा आउनेको लाइन पनि लामै हुन्थ्यो”, सेनानी खत्रीले भने । मेलाका समयमा टाढाटाढाबाट आउने श्रद्धालु, स्थानीय तथा पर्यटकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर प्रभावकारी भएको उनले बताए । सेनाको सेवा मेला र विशेष अवसरमा मात्रै सीमित नभई हरेक दिनजसो दर्जनभन्दा बढी बाहिरका बिरामीको उपचार गरिने सेनानी खत्रीले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर