मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङ । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा सहभागी हुन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझसम्म मुस्ताङ आइपुगेका छन्।

सातै प्रदेशका महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए। सम्मेलनमा आउने अतिथिका लागि स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। सम्मेलन व्यवस्थापनका लागि गाउँपालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा अन्य सङ्घसंस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले बताइन्।

उनका अनुसार सम्मेलनमा सहभागी अतिथिका लागि बिहानको ब्रेकफास्ट, खाना र खाजाको व्यवस्था सम्मेलनस्थलमै आमा समूहका टोलीले गर्नेछन्। बेलुकीको खाना र बसोबास भने गाउँपालिकाले तोकेका होटलमा व्यवस्था गरिएको छ। सम्मेलनलाई भव्य बनाउन गाउँपालिकाका पाँचै वडाका सडक तथा बस्तीमा स्थानीय मौलिक कला र संस्कृति झल्कने ध्वजापताका झुन्ड्याएर सजाइएको छ। मुख्य राजमार्ग तथा भित्री सडकमा सडकबत्ती जडान गरी झिलीमिली पारिएको छ।

आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ भने खानेपानी, इन्टरनेट र विद्युत् सेवामा समस्या नहोस् भनेर आवश्यक पूर्वतयारी गरिएको गाउँपालिकाले जनाएको छ। सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई पनि सहज बनाइएको छ।

जोमसोम कभर्डहलमा हुने सम्मेलनका लागि स्टेज, साउन्ड सिस्टम, ब्यानरलगायत आवश्यक सजावट गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिए। सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले २८ फिट उचाइको ‘पृथ्वी रोइरहेको’ आकृतिको बेलुन राखिएको छ। त्यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यले ५० भन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले बताए। दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्बन्धी घोषणापत्र जारी गर्नेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर