
डोटी । रोजगारीको खोजीमा युवा बिदेसिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेसिने गरेका छन् ।
हजारौँ युवाको भन्दा अलग सपना थिएन यहाँको आदर्श गाउँपालिका–१ का २३ वर्षीय मुकुन्द अवस्थीको पनि । तीन वर्षे कृषि विज्ञान (आइसिएजी) अध्ययन सकेर कृषिमा राम्रो कमाइ हुने देश जाने उहाँको चाहना थियो । विदेश जाने योजना स्थगित गरेर गाउँमै व्यावसायिक सागसब्जी खेती गरेका मुकुन्दले सन्तोषजनक कमाइ गरिरहेका छन् । ‘अहिलेको ‘ट्रेन्ड’ भनौँ वा बाध्यता सबै विदेसिने लहर छ, बाहिर जानुपर्छ राम्रो कमाउनुपर्छ भन्ने मेरो पनि सोच थियो । कोरिया वा इजरायल जानुपर्छ भन्ने योजना बनाइसकेको थिएँ तर लकडाउन भएपछि घर आएँ र बाँझो जमिनमा खेती गर्न थाले’, मुकुन्दले सुरुवाती दिन स्मरण गरे ।
हाल मुकुन्दले करिब १२ रोपनी जमिनमा सागसब्जी लगाइरहेको छ । उनले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर २५ ‘प्लास्टिक टनेल’ बनाएर सागसब्जी लगाएका छन् । सबै टनेलमा अहिले गोलभेडा फलिरहेका छन् ।
सुरुवातमा गाउँपालिकाबाट प्राप्त रु. एक लाख ५० हजार अनुदान र बाँकी आफ्नो लगानीमा दश ओटा टनेलबाट सागसब्जी उत्पादन सुरु गर्नुभयो । गत वर्ष १० ओटा टनेलबाट करिब नौ लाख बराबरको सागसब्जी बिक्री गरेको उनले जानकारी दिए। पहिलो वर्ष लगानी धेरै लागेकोले खर्च कटाएर करिब तीन लाखजति आम्दानी भएको थियो । यो वर्ष २५ वटा टनेलमा सागसब्जी लगाएकोले कारोबार दोब्बरले बढ्ने उनको अनुमान छ ।
मुकुन्दले हाल दैनिक आठदेखि १० ‘क्रेट’ गोलभेडा बजार लैजाने गरेका छन् । प्रतिकिलो रु. ५० का दरले गोलभेडा बजारमा बिक्री हुँदा उनको दैनिक आठदेखि १० हजार कमाइ हुन्छ । गोलभेडाले सजिलै बजार पाएको छ । मुकुन्दले भने, ‘‘डोटी जिल्ला तरकारीमा परनिर्भर थियो सुरुमा उत्पादित सागसब्जी बिक्री गर्न धेरै मेहनत गर्नुपर्यो तर अहिले माग धान्न सकिरहेको छैन, दैनिक डेढदेखि दुई क्वीन्टल बजारमा जान्छ । मूल्य पनि राम्रो छ ।’’
उनले सागसब्जीमा ‘मल्चिङ’ र थोपा सिँचाइ प्रविधिको प्रयोग गर्नुभएको छ । स्वच्छ तरकारी उत्पादन गर्न कम्पोस्ट मलको प्रयोग गरिएको छ । घरमा भएका भैँसी, बाख्रा, गाई, गोरुको मलमूत्रबाट बन्ने मल पर्याप्त छ । थप गँड्यौला मलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको उनले बताए।
मुकुन्दले थालेको कृषिबाट परिवार मात्रै आत्मनिर्भर भएको छैन । पाँच जनाले रोजगारीसमेत पाएका छन् । यो वर्ष टनेलको सङ्ख्या थप गरेर ५० ओटा पु(याउने योजना उनको छ । तर, उत्पादित सागसब्जी बजार पु(याउन भने समस्या छ । दिपायल बजारसम्म पुग्ने बाटो कच्ची हुँदा बेलाबेला अवरुद्ध हुने गर्छ । त्यसो हुँदा पिठ्यूँमा बोकेर बजार पुर्याउनुपर्ने बाध्यता रहेको उनले सुनाए। बृहत् तरकारी उत्पादन क्षेत्र कार्यक्रम अनुसार थोपा सिँचाइ, पानी ट्याङ्की निर्माण, प्लास्टिक घर र गँड्यौला मलको उत्पादन सहयोग गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो । छोटो समयमै सफल कृषक बनेका मुकुन्द युवाका लागि प्रेरणादायी व्यक्ति रहेको अवस्थीले बताए ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो