
झापा । जिल्ला विपद् व्यवस्थापन समिति झापाले सदरमुकाम चन्द्रगढीमा २७ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । आज ‘भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले भूकम्पका जोखिम न्यूनीकरण गर्न घर, विद्यालयलगायत भौतिक संरचना निर्माण गर्दा सचेतना अपनाउनुपर्नेमा जोड दिए। भूकम्पजस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सुरुमा नै सतर्कता अपनाउनुपर्ने भन्दै उनले सर्तकता अपनाउँदा ठूलो जनधनको क्षति हुनबाट जोगिन सकिने धारणा राखे ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भूकम्प नियन्त्रण गर्नु हाम्रो अधीन नभए पनि यसबाट हुने क्षतिलाई कम गर्न सजगता अपनाउनुपर्ने बताए । भूकम्पसहित अन्य प्राकृतिक विपद्बाट बच्न पूर्वतयारी तथा यससम्बन्धी सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भूकम्पको जोखिम न्यूनीकरणका लागि सचेतनासहित प्रचारप्रसार गरी यसबाट बच्ने उपायका बारेमा जनचेतना फैलाउन अपरिहार्य रहेको बताए । विगत ९० वर्षमा चार ठूला र हजारौंको सङ्ख्यामा भूकम्पका धक्का भोगिसकेको उल्लेख गर्दै उनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी र घर तथा भौतिक संरचना भूकम्प प्रतिरोधी निर्माण गर्नुपर्नेमा जोड दिए ।
भूकम्प सुरक्षा दिवसको अवसरमा सदरमुकाम चन्द्रगढीमा प्रभातफेरीको आयोजना गरी कर्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लास्थित सरकारी निकाय, सुरक्षा निकाय, जनप्रतिनिधि, शिक्षक विद्यार्थी, रेडक्रसलगायत स्थानीयको सहभागिता थियो ।
सङ्खुवासभामा पनि मनाइयो २७ औँ भूकम्प सुरक्षा दिवस
नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभा र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा आज २औँ राष्ट्रिय भूकम्प दिवस मनाइएको छ । सदरमुकाम खाँदबारीमा आयोजित कार्यक्रममा रेडक्रसका तर्फबाट भूकम्प आउँदा सुरक्षित कसरी हुने भन्नेबारेमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।
खाँदबारी नगरपालिकाका अधिकृत खेमराज निरौलाले भूकम्पीय जोखिम न्यूनीकरणका बारेमा प्रस्तुति दिएका थिए। उनले भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबै लाग्नुपर्ने बताए । पूर्वतयारी, सुरक्षा विधि, आपत्कालीन सामग्रीको जोहो गर्नुपर्ने र खुला स्थानको पहिचान गरिरहनुपर्ने निरौलाले उल्लेख गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाद्वार भूकम्पका बारेमा तयार गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।













समाचार
मदन भण्डारी कप भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई
मितेरी पुलमा ११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० उपयुक्त गन्तव्य
सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम
आजदेखि काँग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था