
सोलुखुम्बु । यस वर्षको वसन्त ऋतु (स्प्रिङ सिजन) मा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा छ जना आइसफल डाक्टरसहित नौ जनाको टोलीले सगरमाथा आधार शिविरबाट निर्माण सुरु गरेको आरोहणको बाटो सम्पन्न गरेको हो ।
‘स्प्रिङ सिजन’ को सगरमाथा आरोहणको समय सुरु भएपछि आइसफल डाक्टरको टोलीले चैतको दोस्रो सातादेखि बाटो निर्माणमा लागेका थिए । हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ । आधार शिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पा, आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाको नेतृत्वमा गएको टोलीले निर्माण सम्पन्न गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) नाम्चकी सूचना अधिकारी याङ्जिडोमा शेर्पाले जानकारी दिए । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हरेक वर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ । आइसफल डाक्टरहरूले आल्मुनियमका भ¥याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्छन् ।
चुनौतीपूर्ण मौसम भए पनि १८ घण्टा खटेर टोलीले दुई हजार दुई सय मिटर डोरी राखेपछि २०२५ को सगरमाथा सिजन अब आधिकारिक रूपमा खुलेको समितिले जनाएको छ । खुम्बु आइसफलदेखि क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डोरी टाँग्ने र भ¥याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् । पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट छ हजार चार सय मिटर उचाइको क्याम्प दुईसम्म दर्जनौँ सानाठुला हिमखाल्डा छन् । क्याम्प दुईभन्दा तल धेरै खाल्डा भएकाले बाटो बनाउने धेरै काम त्यहाँ गर्नु पर्छ । क्याम्प दुईमाथि हिमखाल्डा खासै छैनन् । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकले आरोहणकै समयमा गर्छन् ।
आधार शिविरमा पदमार्ग निर्माण निकै जोखिमपूर्ण हुने भएकाले बौद्ध धर्म अनुसार लामाबाट पूजापाठ गरी बाटो निर्माणको साइत गरिएको थियो । बाटो निर्माणका लागि एक हप्तासम्म आधार शिविरमै आवश्यक तयारी गरिन्छ । हिमाल आरोहण गर्ने बाटो हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने भएकाले ज्यान माया मारेर बनाउनुपर्ने आइसफल डाक्टरहरू बताउँछन् । हिमपहिरो गएमा बनाएको बाटो बिगार्ने भएकाले एकै स्थानमा पटक पटक बाटो बनाउनु पर्छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि प्रयोग गरिने आधार शिविर एउटै हो । आधार शिविरबाट क्याम्प दुईसम्म तीन वटै हिमालको आरोहणका लागि बाटो पनि एउटै प्रयोग हुँदै आएको छ । बाटो खुलाउने जिम्मेवारी लिएको एसपिसिसीले बाटो खुलाएर अनुमति दिएपछि मात्रै आरोही तथा आरोहण व्यवसायीहरू दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गर्ने काम हुन्छ ।
यसैबिच हिमपहिरोबाट कुनै पनि क्षति नभएको एसपिसिसिले स्पष्ट पारेको छ । केही अनलाइन समाचारहरूमा प्रसारित समाचार भएको भन्दै हिमपहिरोले आरोहण मार्गमा टोलीले राखेका भ¥याङ र डोरीलगायत कुनै पनि उपकरणलाई असर नगरेको जनाइएको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै