
म्याग्दी । म्याग्दीका किसानले ख्यालख्यालैमा सुरु गरेको टिम्मुरखेती यहाँका किसानहरूको लोभलाग्दो आम्दानीको माध्यम बन्दै गएको छ । यहाँका गाउँमा किसानले कतै बिरूवा उमारेर टिम्मुरखेती गरेका छन् भने कतै खोल्साखाल्सी, पाखो र खेती नहुने ठाउँमा प्राकृतिक रूपमा उम्रेका बिरूवा र बोटहरूको संरक्षण गरी आम्दानी गरिरहेका छन् ।
आयुर्वेदिक चिकित्सामा टिम्मुरलाई धेरै रोगको औषधि मानिन्छ । यसको अचारले खानाका परिकारलाई स्वादिष्ट बनाइदिन्छ । त्यसैले बजारमा टिम्मुर प्रतिकिलो आलोमा रू तीन सयदेखि पाँच सय र सुकाएको रू एक हजार पाँच सयदेखि रू दुई हजारसम्म बिक्री हुने गर्दछ ।यस्तो बहुउपयोगी टिम्मुरको महत्व बुझेपछि यहाँका किसानले व्यावसायिक रूपमा नै टिम्मुरखेती सुरु गरेका हुन्। पाखो जग्गामा मात्रै होइन खेतीयोग्य जग्गामा समेत टिम्मुर लगाएका कृषकले टिम्मुरको फल बिक्री गरेर वार्षिक रू दुई लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका कृषि प्राविधिकहरूले बताएका छन् ।
जिल्लाका सबैजसो स्थानीय तहमा टिम्मुरखेती हुन्छ । यहाँका मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली तथा बेसी क्षेत्र र बेनी नगरपालिका – ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्ले खेतलगायत ठाउँमा व्यावसायिक रूपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले टिम्मुरखेती यहाँका कृषकहरूको लागि आम्दानीको माध्यम बन्दै गएको बताए । उनका अनुसार जिल्लामा वार्षिक करिब तीन हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको छ ।
टिम्मुरखेतीको व्यावसायिक उत्पादन गरिरहनुभएका अगुवा कृषक लालबहादुर घर्तीले टिम्मुर ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’ लोकोक्तिसँग मिल्ने महत्वपूर्ण वनस्पति भएको बताउनुहुन्छ । उहाँले नर्सरी स्थापना गरेर टिम्मुरका बिरूवा बिक्री गर्दै आएका छन् । टिम्मुर बिक्री गरेर गतवर्ष रू चार लाख ८६ हजार आम्दानी गर्नुभएका घर्तीले यसवर्ष टिम्मुरखेती विस्तार गरेको बताए।
डिभिजन वन कार्यालयका अनुसार जिल्लामा २० वटा समूह गठन गरी टिम्मुरखेती विस्तार भइरहेको छ । जेठमा फल लाग्न सुरू हुने यो वनस्पति भदौ–असोजमा पाक्ने गर्छ र टिपेर सुकाएपछि बिक्रीका लागि योग्य हुन्छ । म्याग्दीमा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ ।













समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज