
गोरखा । अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा व्यस्त । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर ।
आफूजस्तै दिनरात श्रम गरेर खाने दौँतरीसँग उनको समय बित्छ । लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एउटा मात्रै घर छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्छन् । सम्पत्तिको नाममा घरले चर्चेको यही जग्गा हो उनको । त्यसले असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के !
“योभन्दा बाहेक टेक्ने जग्गा पनि छैन । सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गा हो । यसैमा सरकारले बनाइदिएको सानो घर र दुईचारवटा कुखुरा छन् । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छन्”, कुसुन्डाले भने । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ मात्रै छ । यसैमा पर्छ चेतबहादुरको आठ सदस्यीय परिवार । उनको परिवार विगत ४५ वर्षदेखि गोनपा–११ स्थित तेह्रकिलोमा बसोबास गर्दै हो । विसं २०३८ मा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ । उनी आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना सुनाउँछन् । “१० वर्षको हुँदा बा बिते, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, चेतबहादुरले भने, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’भनेपछि जानै पर्यो !”
आमा सुमित्रा वनकिरानीले आफू र दुई छोरीलाई कहिले यता, कहिले उता सारेको कष्टकर दिनको सम्झिँदा चेतबहादुर अहिले पनि गम्भीर बन्छन् । दिदीबहिनी दुवैले तेह्रकिलोबजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उनले सुनाए । “दुवै जनाले क्षेत्रीसँग बिहे गरे । दिदीको बुढा ड्राइभर थिए, हामी पनि दिदीकै रेखदेखमा यही बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर खलासीको काम गरेँ”, चेतबहादुरले भने ।
खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरू नवलपरासी पनि पुगेको उनले बताए । “यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनिछन् । हामी आमाछोरा नै जग्गा पाउने आसमा त्यही गयौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्थिन् । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन अनि एक वर्षपछि तेह्रकिलोमै फर्किएँ । आमा पनि म यहाँ आएको केही वर्षपछि फर्किइन्”, चेतबहादुरले भने ।
उनले २०–२२ वर्षको उमेरमा नजिकै पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गरे । बिहेपछि दुई पटक कतार र एक पटक साउदी पनि पुगे । उनका दुई भाइ छोरा र एक छोरी छन् । जेठो छोरो ३२ वर्षीय अनिल कुसुन्डा हाल ड्राइभर छन् । अनिलले भच्चेककी बिमाया गुरुङसँग बिहे गरेका छन् । उनको दुईभाइ छोरा छन् ।
छोरी अनिता कुसुन्डाले तेह्रकिलोमै बिहे गरेकी छिन् । कान्छो छोरो २८ वर्षीय अशोक कुसुन्डा हाल वैदेशिक रोजगारीमा छन् । भोगटेनीकी आशा गुरुङसँग विवाह गरेका अशोकका एक छोरा र एक छोरी छन् । आफ्ना तीनै जना छोराछोरीले ४–५ कक्षा पढ्दै छोडेको उनले बताए । “नपढ्नेलाई जति कराए पनि लाग्दैन रहेछ । सानैमा बिहे गरेर अहिले छोराछोरीको धनी भएका छन्”, चेतबहादुरले भने, “म पनि अक्षर चिन्दिनँ । छोराछोरीले के पढ्थे ।”
चेतबहादुरकी श्रीमतीको भने मृत्यु भइसकेको छ । “बुडिया बितेको त चार वर्ष भयो । आमा पनि पोहोरको चैतमा खसेकी हुन्”, उनले भने, “आफन्तका नाममा दिदीबहिनी र ससुराली छन् । आमाको माइती लमजुङको भोटेओडार हो । मावली टाढा भयो, आउजाउ छैन ।” आफू १० वर्षको हुँदा बितेका बुबा गनबहादुर कुसुन्डा को थिए ? कहाँबाट आएका थिए ? र उनको परिवार को हुन् भन्नेबारे चेतबहादुर बेखबर छन् । उनलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । उनले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ पनि गरेका छैनन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखपछि आफू खुसी हुने गरेको उनको भनाइ छ ।
“अन्ततिरको कुसुन्डाहरूले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउ बाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिबारे केही थाहा हुन्थ्यो होला”, उनले भने । आफूहरूले अरू हिन्दुसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताए । उनी भन्छन्, “दसैँ, तिहार सबै मनाउँछौँ । अरूले जस्तै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौँ । हाम्रो कुलायन पूजामाचाहिँ भाले चढाउनु पर्छ ।”
सरकारले उनको आठ जना परिवारलाई प्रतिव्यक्ति मासिक चार हजारका दरले भत्ता दिँदै आएको छ । हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको हो । अब सरकारले लोपोन्मुख कुसुन्डा जातिको उत्थान र संरक्षणका लागि थप कार्यक्रम ल्याउनुपर्ने चेतबहादुरको भनाइ छ । सरकारले आफूहरूको लागि उचित वासस्थानको व्यवस्था मिलाउनुपर्ने उनको माग छ ।












समाचार
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी
नेष्डो समृद्ध लघुवित्तमा रोजारीको अवसर
कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन आह्वान
एक वर्षमा ३३३ उद्योग दर्ता
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ