
सुनसरी । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन् । दिनमा रु तीन सयदेखि रु सात सयसम्मको निगुरो बिक्री गर्ने उराँवले यसबाट दुई छोराछोरीको विद्यालय खर्च, खाजा खर्चका साथै घरमा दैनिक प्रयोग गरिने नुनतेल किन्नेदेखि लिएर दैनिक आवश्यकता पूरा गर्ने गरेको बताइन् ।
उनले भनिन्, “निगुरोमा कुनै लगानी गर्नु पर्दैन, जङ्गलबाट टिपेर ल्याएर बेच्दा फाइदा हुन्छ, बिनालगानी पैसा कमाउन सकिन्छ तर बिहानै जान पाए धेरै पाइन्छ, छोराछोरीलाई स्कुल पठाउनुपर्ने भएकाले दिउँसोमात्र निगुरो जङ्गल टिप्न जान पाउँछु ।” उनले निगुरो रामधुनीको जङ्गलभित्रबाट टिपेर ल्याई रामधुनी मन्दिर नजिकै सडक छेउमा दिनभर बेचेर बेलुका घर पर्कने गरेको सुनाइन् ।
उनका अनुसार धेरै सङ्कलन भएको दिन इटहरी, इनरुवा, झुम्कालगायतका व्यापारीले आएर लैजाने गरेका छन् भने थोरै भए बाटो हिँड्नेले नै खरिद गर्ने गरेको उनले बताइन् । सङ्कलन गरेको निगुरो सानो मुठा रु २० मा बिक्री हुने गरेको छ भने अलिक ठूलो मुठा रु ५० मा बिक्री हुने गरेको उनले बताइन् । तीन वर्ष अगाडिदेखि निगुरो बेच्न सुरु गर्नुभएको उराँवले दसैँ, तिहारको समयमा भने बढी आम्दानी हुने गरेको बताइन् ।
दसैँतिर धेरै मानिस घरायसी काममा व्यस्त हुने भएकाले जङ्गल जान पाउँदैनन् । त्यो समयमा भने निगुरो टिप्न सजिलो हुने उनले बताए । दसैँ तिहारको आधा खर्च यही निगुरो बिक्रीबाटै जुटाउँछु, निकै सहयोग पुग्छ मलाई । उराँवका अनुसार जङ्गलबाट टिपेर ल्याइने निगुरो पूर्ण अग्र्यानिक हुने भएकाले स्वादिलो मात्र नभई स्वास्थ्यका लागि लाभदायी पनि हुन्छ । जति धेरै टिपे पनि बिग्रने चिन्ता हुन्न, सबै बिक्री भइहाल्छ । उनले भनिन्, “अहिलेको सिजनमा बारीमा सागसब्जी रोपेर बेच्नुभन्दा निगुरो टिपेर बेच्दा धेरै फाइदा हुन्छ ।”
उनले चैतदेखि असोज, कात्तिकसम्म निगुरो टिप्ने मौसम हुने बताइन् । यसैबाट छोराछोरीको स्कुलको खाजा खर्च, नुनतेलदेखि लिएर कहिलेकाहीँ बजार जाने खर्चसमेत पुग्ने बताइन् । बराहक्षेत्र क्षेत्रमा सरिता उराँवजस्ता धेरै परिवारका लागि जङ्गलबाट निगुरो सङ्कलन गरी आयआर्जनको प्रमुख स्रोत बनेको छ । जङ्गलमा पाइने यस्ता अग्र्यानिक वनस्पतिले सिजनअनुसार स्थानीय महिलालाई आत्मनिर्भर बनाउन सहयोग पु¥याएको छ । रामधुनी मन्दिर नजिकैको सडकमा बिहान निगुरो बेच्ने एक दर्जनभन्दा बढी महिलाहरू भेटिन्छन्, उनीहरू निगुरो बेचेरै घरखर्च टार्ने गरेको बताउँछन् ।












समाचार
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित