
म्याग्दी । २५ कात्तिकः केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ । सहरबजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछि पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो ।
कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेश्की दिएर जान थालेका मालिका गाउँपालिका–२ का किसान रणबहादुर शिर्पालीले बताए । मालिका गाउँपालिका–६ का उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले गत वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गरेकामा यस वर्ष साढे तीन सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती विस्तार गरेका दिच्यामका वीरबहादुर विकले बताए । गत वर्षको भन्दा एक सय २० रोपनी बढी जग्गामा यस वर्ष कोदोखेती विस्तार गरिएको उनले बताए ।
‘सहरमा कोदोको माग उच्च छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी दुई दिन लगाई कोदो रोपेँ, सात–आठ मुरी जति कोदो फल्ने अनुमान छ’, धवलागिरि गाउँपालिका–२ की शोभा पुनले भनिन् ।
पोषणविज्ञहरूका अनुसार कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ ।
तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई उपयुक्त मानिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष म्याग्दीमा कोदोको उत्पादन बढ्ने भएको छ । गत वर्षको तुलनामा ०.६५ प्रतिशतले उत्पादन बढ्ने केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । अनुकूल मौसम, रोग कीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा कोदो उत्पादन बढ्ने उनले बताए । गत वर्ष म्याग्दीमा दुई हजार दुई सय ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती गरिएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह