
काठमाडौं । निजी विद्यालय सङ्गठनहरू-प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका छन् ।
आन्दोलनअन्तर्गत देशभरका विद्यालय बसहरू भदौ १६ गते र्यालीमा सहभागी हुने भएका छन् ।संयुक्त विज्ञप्तिमा शिक्षा विधेयक संशोधनका मागलाई बल दिनका लागि विद्यालय बस र्याली आयोजना गरिएको उल्लेख गरिएको छ ।
आन्दोलनमा सातै प्रदेश, सबै जिल्ला, पालिका कार्यसमिताका पदाधिकारी तथा सदस्य विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरूलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरिएको छ । काठमाडौं उपत्यकाभित्रका विद्यालय बसहरूलाई विभिन्न चोकबाट प्रवेश गरी चक्रपथ परिक्रमा गर्ने गरी रूट निर्धारण गरिएको छ ।
भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वर क्षेत्रका विद्यालय बसहरू कोटेश्वर चोकमा जम्मा भई सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गर्नेछन् । ललितपुरका विद्यालय बसहरू सातदोबाटोबाट प्रवेश गरी एकान्तकुना हुँदै चक्रपथ घुम्नेछन् भने त्रिपुरेश्वर, टेकु, कालिमाटी र कीर्तिपुर क्षेत्रका विद्यालय बसहरू बल्खुबाट प्रवेश गरी कलंकी हुँदै चक्रपथ परिक्रमा गर्नेछन् ।
यस्तै, चन्द्रागिरि र थानकोट क्षेत्रका विद्यालय बसहरू कलंकी प्रवेश गरी सितापाइला हुँदै चक्रपथ घुम्ने, वाफल, सितापाइला, स्वयम्भु क्षेत्रका बसहरू हलचोक प्रवेश गरी सानोभ¥याङ हुँदै परिक्रमा गर्ने, तारकेश्वर र आसपासका विद्यालय बसहरू बालाजु प्रवेश गरी सामाखुशी हुँदै घुम्ने व्यवस्था गरिएको छ ।
टोखा, गोंगबु, ठमेल र आसपासका विद्यालय बसहरू सामाखुशी हुँदै धापासीतर्फ प्रवेश गर्नेछन् भने बुढानिलकण्ठ, महाराजगञ्ज, पानीपोखरी, बालुवाटारलगायतका विद्यालय बसहरू नारायणगोपालचोक हुँदै चावहिलतर्फ जानेछन् ।
कपन, जोरपाटी, गोकर्णेश्वरलगायतका बसहरू चावहिल प्रवेश गरी गौशला हुँदै चक्रपथ परिक्रमा गर्ने र गौशला, रातोपुल, बत्तीसपुतली, पुरानो बानेश्वर, मैतीदेवीलगायत क्षेत्रका विद्यालय बसहरू गौशला चोक प्रवेश गरी एयरपोर्ट–सिनामंगल हुँदै चक्रपथमा सहभागी हुनेछन् ।
विज्ञप्तिअनुसार विद्यालय बसहरूमा व्यानर र कालो झण्डा राखिनेछ र बिहान ठीक ११:३० बजेबाट बस र्याली सुरु हुनेछ । र्यालीलाई व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश पदाधिकारी, उपत्यकाका जिल्ला अध्यक्ष र नगर अध्यक्षलाई तोकिएको छ । सबै विद्यालय बसहरूले चक्रपथलाई घडी घुम्ने दिशामा परिक्रमा गर्नेछन् ।
संयुक्त विज्ञप्तिमा आन्दोलनका कार्यक्रमलाई सफल बनाउन हालसम्म दिएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै अझै सक्रियता देखाउन आग्रह गरिएको छ । विज्ञप्तिमा एनएमए अध्यक्ष पवित्रा लिम्बु, अपेन अध्यक्ष बढी दाहाल, हिसान कार्यवाहक अध्यक्ष युवराज शेर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व