
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको वाह्य क्षेत्रको अवस्था सबल भए पनि दिगो नभएको निष्कर्ष निकालेको छ । समष्टिगत आर्थिक प्रतिवेदन अनुसार विप्रेषण आप्रवाहमा आधारित भएकाले अन्तर्राष्ट्रिय जगतमा बढ्दो द्वन्द्वका कारण दिगो नहुने निचोडमा केन्द्रीय बैंक पुगेको हो ।
केन्द्रीय बैंकले अर्धवार्षिक रूपमा समष्टिगत आर्थिक प्रतिवेदन प्रकाशन सुरु गरेको छ । पहिलो पटक प्रकाशित प्रतिवेदन अनुसार अर्थतन्त्रको वाह्य क्षेत्रका सूचक बलियो र सुधारोन्मुख छन् । नेपालको हालको व्यापार घाटा ९ खर्ब ५५ अर्ब बराबर छ । वनस्पति तेल निर्यातमा निर्भरताका कारण निर्यात वृद्धि जोखिमपूर्ण रहेको केन्द्रीय बैंकको प्रतिवेदनले जनाएको छ । चालु आर्थिक वर्ष पुससम्ममा शोधनान्तर स्थिति ५ खर्ब छ । विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब पुगेको छ । यो बचत मुख्यतया विप्रेषण आप्रवाहमा आधारित छ । जुन आफैंमा वाह्य कारकहरूको जोखिममा रहेको केन्द्रीय बैंकको भनाइ छ । त्यस्तै स्थिर विनिमय दरले भारतसँगको व्यापार र लगानी प्रवाह स्थिर बनाएको छ । तर, अन्य मुद्रासँगको विनिमय दर अस्थिर रहँदै अवमूल्यनको दबाब सामना गरिरहेको केन्द्रीय बैंकको निष्कर्ष छ ।
वित्त क्षेत्रको कार्यसम्पादन मिश्रित छ र सुधारका संकेत देखाएको केन्द्रीय बैंकको दाबी छ । कोभिड–१९ महामारी पछि प्रमुख वित्तीय सूचकले पुनरुत्थानको संकेत देखाएका छन्, तर राजस्व परिचालन कमजोर र महामारीपूर्वको स्तरमा फर्कन सकेको छैन । त्यस्तै न्यून पूँजीगत खर्च र खर्चमा उच्च मौसमीपनका कारण खर्च संरचना एक प्रमुख चुनौतीका रूपमा रहेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ । निरन्तरको ऋणात्मक वित्तीय सन्तुलन र वाह्य अनुदान तथा सहुलियतमा आएको क्रमिक गिरावटले वित्तीय आवश्यकता अझ फराकिलो बनाएको छ ।
त्यस्तै स्थिर विनिमय दरले भारतसँगको व्यापार र लगानी प्रवाह स्थिर बनाएको छ । तर, अन्य मुद्रासँगको विनिमय दर अस्थिर रहँदै अवमूल्यनको दबाब सामना गरिरहेको केन्द्रीय बैंकको निष्कर्ष छ ।
आन्तरिक ऋणमा ऋण परिचालनको केन्द्रीकरण पनि चुनौती बनेको केन्द्रीय बैंकले जनाएको छ । कुल ऋणको स्तर अझै पनि क्षेत्रीय औसतभन्दा तल र ऋण दिगोपनको जोखिमभन्दा धेरै तल छ । यसैले नेपाल सरकारसँग आर्थिक उत्पादकत्व र रोजगारी बढाउने क्षेत्रहरूमा खर्च प्राथमिकता दिने वित्तीय स्पेस अझै बाँकी रहेको केन्द्रीय बैंकको भनाइ छ । समष्टिगत आर्थिक विश्लेषणको प्राथमिक स्रोत र विद्यमान मौद्रिक नीति वक्तव्यको संरचना पुनर्गठन गर्ने आधारका रूपमा काम गर्ने केन्द्रीय बैंकको दाबी छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले राष्ट्र बैंकलाइ आर्थिक स्थायित्व र दिगो विकासका लागि मूल्य र शोधनान्तर स्थिरता कायम राख्न आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति तर्जुमा गर्ने जिम्मेवारी तोकेको छ । सोही अनुसार उद्देश्य हासिल गर्न विभिन्न मौद्रिक उपकरण र नीतिगत नियम प्रयोग गर्दै वार्षिक रूपमा विस्तृत मौद्रिक नीति तर्जुमा गर्ने काम केन्द्रीय बैंकले गर्दै आएको छ । उच्च भूराजनीतिक र व्यापारिक तनावबीच विश्व अर्थतन्त्र समग्रमा उत्थानशील छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘वल्र्ड इकोनोमिक आउटलुक, जनवरी २०२६’ को अद्यावधिक विवरणले २०२४ र २०२५ मा मुद्रास्फीति नरम रहने र आर्थिक वृद्धि स्थिर रहने देखाएको छ ।
विश्वव्यापी आर्थिक वातावरण सहज हुँदै जाँदा, विश्वव्यापी उत्पादन वृद्धि र मुद्रास्फीति क्रमशः ३.३ प्रतिशत र ३.८ प्रतिशत हुने अपेक्षा गरिएको छ । विकसित र उदीयमान अर्थतन्त्रका केन्द्रीय बैंकहरूले कुल माग बढाउन नीतिगत दर कटौती मार्फत मौद्रिक नीति खुकुलो बनाउन थालेका छन् । आर्थिक वृद्धि मध्यम छ, मुद्रास्फीति तुलनात्मक रूपमा स्थिर छ र मौद्रिक क्षेत्र मिश्रित अवस्थामा छ, जहाँ ब्याजदरहरू ऐतिहासिक रूपमै न्यून छन् तर कर्जा प्रवाहको वृद्धि सुस्त रहेको केन्द्रीय बैंकले जनाएको छ । पूँजीगत खर्च सुस्त रहे पनि वित्त क्षेत्रमा सुधार भइरहेको केन्द्रीय बैंकले जनाएको छ ।
एक दशकमा चार ठूला झट्का २०१५ को महाभूकम्प, २०१५ को राजनीतिक पुनर्संरचना, कोभिड–१९ महामारी र हालैको जेनजी आन्दोलन खेपेपछि नेपालको आर्थिक वृद्धि मध्यम भएको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) संरचना परिवर्तन हुँदैछ । सेवा क्षेत्रको विस्तार भएको छ भने कृषि र उद्योग क्षेत्र खुम्चिएको छ । त्यस्तै नेपालमा कुल माग मुख्यतया उपभोगद्वारा निर्देशित छ, जसलाई निजी लगानी र सरकारी खर्चले पछ्याएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्ला दशकहरूमा मुद्रास्फीति स्थिर भएको छ, यद्यपि गैरखाद्य मुद्रास्फीतिको तुलनामा खाद्य मुद्रास्फीति बढी उतारचढावपूर्ण हुने गरेको केन्द्रीय बैंकले औँल्याएको छ ।
उपभोक्ता मूल्य सूचकांक बास्केटमा खाद्य र पेय पदार्थको हिस्सा वर्षौंदेखि उल्लेख्य रूपमा घट्दै गएकाले मुद्रास्फीति संरचना परिवर्तन भएको केन्द्रीय बैंकले जनाएको छ । स्थिर विनिमय दर, उच्च व्यापारिक सम्बन्ध र अन्य संरचनात्मक कारकहरूका कारण नेपालको मुद्रास्फीतिले भारतीय मुद्रास्फीतिसँग तालमेल राख्छ । नेपालको मौद्रिक क्षेत्र मिश्रित अवस्थामा छ, जहाँ वित्तीय क्षेत्रमा चुनौती कायमै रहँदा तरलता पर्याप्त छ । विस्तृत मुद्रा प्रदाय र निक्षेप नेपालको जीडीपीभन्दा माथि र कर्जा जीडीपीको नजिक पुगेको छ ।
अल्पकालीन ब्याजदरहरू २०२३ मध्यबाट मौद्रिक नीतिको कार्यदिशा अनुरूप घट्न थालेका थिए, तर अहिले नीतिगत करिडोरको तल्लो सीमा वरिपरि स्थिर भएको केन्द्रीय बैंकले जनाएको छ । कर्जाको ब्याजदर ऐतिहासिक रूपमै न्यून छ र स्थायी निक्षेप सुविधा लगायत उपकरणको मिश्रण सहित प्रभावकारी तरलता प्रशोचनका कारण निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छैन ।
वित्तीय स्थायित्वका उपाय सन्तोषजनक भए पनि चुनौतीपूर्ण रहेको केन्द्रीय बैंकले औँल्याएको छ । पर्याप्त तरल सम्पत्तिसाथ पूँजी पर्याप्तता अनुपात नियामकीय सीमाभन्दा माथि रहे तापनि दुई वर्षयता निष्क्रिय सम्पत्ति बढेको छ । यसले बैंक तथा वित्तीय संस्थाहरूको वासलातमा दबाब सिर्जना गरेको केन्द्रीय बैंकले जनाएको छ । आव २०२५/२६ को पहिलो त्रैमासमा जेनजी आन्दोलनले राजनीतिक र सामाजिक अशान्ति निम्त्याए पनि आर्थिक परिदृश्य स्थिर छ । उपभोक्ता मूल्य मुद्रास्फीति ४ प्रतिशत हाराहारी रहने अपेक्षा केन्द्रीय बैंकको छ । आर्थिक वृद्धि ४ प्रतिशत हाराहारी रहने अनुमान छ ।
चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहँदा वाह्य क्षेत्र स्थिर रहने प्रक्षेपण केन्द्रीय बैंकको छ । उच्च विप्रेषण आप्रवाहका कारण तरलता बढेकाले मुद्रा प्रदाय वार्षिक पूर्वानुमान अनुरूप बढ्ने प्रक्षेपण गरिएको छ । यद्यपि, कर्जा वृद्धि विस्तार वित्तीय कार्यसम्पादनमा निर्भर हुनेछ, जसमा चुनावपछिको सार्वजनिक खर्चमा वृद्धि र स्थिर सरकार गठनसँगै समग्र लगानी वातावरणमा आउने सुधार हुने अपेक्षा केन्द्रीय बैंकको छ ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने