सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।नयन एडभरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेश खबर डटकमको आयोजना, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको सहकार्य तथा नेपाल पत्रकार महासङ्घ सुनसरीको समन्वयमा समिट सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
सम्मेलनले नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको अवस्थामा सङ्घीय, प्रदेश र स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने अनुकूल वातावरण बनाउन भूमिका निर्वाह गर्न माग गरेको छ । अनुकूल समाचार प्रकाशन–प्रसारण नगरेको निहुँमा मिडिया र पत्रकारमाथि हुने भौतिक आक्रमण तथा धम्कीका घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याई पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न, सूचना विभागबाट प्रदान गरिने प्रेस पास सहज रूपमा उपलब्ध गराउन र दुरुपयोग रोक्न, सम्पादकीय स्वतन्त्रता दृढतापूर्वक कार्यान्वयन गर्न तथा समाचार कक्षको स्वतन्त्रताका लागि उपयुक्त वातावरण निर्माण गर्न सम्मेलनले माग गरेको घोषणापत्र तयार समितिका संयोजक तथा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य अमर खड्काले जानकारी दिए ।
यसैगरी मर्यादित पत्रकारिताको विकासका लागि अझ प्रभावकारी भूमिका खेल्न प्रेस काउन्सिल नेपालसँग आग्रह गर्नुका साथै ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ बढिरहेको अवस्थामा पत्रकारले थप विश्वसनीय र जवाफदेही भएर काम गर्नुपर्ने निष्कर्ष निकालिएको छ । आचारसंहिताको पूर्ण पालना गर्ने सङ्कल्प गर्दै आचारसंहितालाई समयसापेक्ष परिमार्जन र परिस्कृत गर्नुपर्ने, सूचना प्रविधिको विकाससँगै पत्रकारिताको अर्थ, मान्यता र प्रक्रिया प्रभावित भएको सन्दर्भमा आचारसंहिताबारे नयाँ ढङ्गले छलफल गर्नुपर्ने निष्कर्ष पनि निकालिएको घोषणापत्रमा उल्लेख छ ।
सामाजिक सञ्जाल, मिडिया, ‘कन्टेन्ट क्रिएटर’ र पत्रकारबीचको भिन्नता बुझाउन मिडिया साक्षरता तथा चेतनामूलक अभियान सञ्चालन गर्न सरकारी नियामक निकाय र सरोकार भएकाहरूले सहकार्य गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ । यस्तै, सरकारले वितरण गर्ने विज्ञापन समानुपातिक र समावेशी बनाउन तथा सङ्कटमा रहेका सञ्चारगृहलाई अनुदान र ‘सफ्ट लोन’को व्यवस्था गर्न र विज्ञापन बोर्डमार्फत लोककल्याणकारी विज्ञापनमा लाग्दै आएको कर छुट गर्न पनि माग गरिएको छ । श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनको अनुगमन गरी तत्काल लागू गर्न र सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा सुनिश्चित गर्न सम्मेलनले माग गरेको छ ।
सम्मेलनले लोकतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षार्थ पेसागत सङ्गठनलाई थप सशक्त बनाउने सङ्कल्पका साथै कोशी पर्यटन वर्ष, २०८२ सफल बनाउन तथा प्रदेशको विकास र समृद्धिका लागि पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ । यसैगरी इटहरीको दिगो विकासमा पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइएको छ ।
समिटमा उठेका जिज्ञासाबारे प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्य, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रामप्रसाद दाहाललगायतकाले जवाफसहित छलफल गरेका थिए। कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारीले सम्बन्धित संस्थाका विषयमा जानकारी गराउँदै पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा धारणा राखे ।
पत्रकार आचारसंहिता, लोककल्याणकारी विज्ञापन, अन्य विज्ञापन, पत्रकारको पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा सहभागिता, नियुक्तिपत्र, पत्रकारका लागि वित्तीय विकासका कार्यक्रम, मिडिया सञ्चालनका विविध पक्षलगायत विषयमा पत्रकार शालीग्राम पाण्डे, सुविद गुरागाईं, बन्धु पोखरेल, सुमन पुरी, सञ्जीव वाग्ले, खेमचन्द्र अधिकारी, राजन केडी, विदुर खवास, मीनकुमार नवोदितलगायतकाले जिज्ञासा राखेका थिए ।
पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीको विषयमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती तथा नेपाल विज्ञापन सङ्घका पूर्वअध्यक्ष सन्तोष श्रेष्ठले आफ्नो धारणा राखेका थिउ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कोशी प्रदेश केन्द्रित कार्यपत्र प्रस्तुत गरेका थिए ।