
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ ।
विभागले बिहीबार एक सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थमात्र बिक्री वितरण गर्न आग्रह गरेको हो ।
विभागले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थमात्र बिक्री गर्न, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थलाई सुरक्षित तापक्रममा भण्डारण गर्न निर्देशन दिएको छ ।
त्यस्तै, भान्सा, खाना वितरण गर्ने स्थान र परिसर सफा राख्न, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा सफा भाँडाकुँडा र स्वच्छ पानी प्रयोग गर्न पनि सूचित गरेको छ । सूचनाअनुसार खाद्य व्यवसायीले गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी खाना राम्ररी पकाएर मात्र उपभोक्तालाई उपलब्ध गराउनुपर्नेछ । बासी, सडेगलेका, झिँगा भन्केका, धुलो तथा फोहर पानी मिसिएका वा अस्वच्छ अवस्थामा तयार गरिएका खाद्य पदार्थ बिक्री गर्न पाइने छैन । साथै, खाद्य पदार्थको बिक्री स्थलमा आवश्यकताअनुसार चिसो वा तातो तापक्रमको व्यवस्था मिलाउन र उचित मूल्यमा बिक्री गर्न पनि विभागले निर्देशन दिएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमका प्रावधान पालना गर्न सचेत गराउँदै निर्देशन उल्लङ्घन गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ ।
यसैगरी, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि विभागले आग्रह गरेको छ । चाडपर्वका समयमा खाद्य पदार्थको खपत र यात्रुहरूको आवतजावत बढ्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभागले व्यवसायीको ध्यानाकर्षण गराएको हो ।












समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?