नेपाल शेर्पा विद्यार्थी संघद्वारा निःशुल्क दन्त स्वास्थ्य शिविर, ५० जना लाभान्वित

काठमाडौं। नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय समितिको आयोजनामा तथा वज्र डेन्टल केयर एण्ड इम्प्लान्ट सेन्टरको सहकार्यमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शनिवार आयोजित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा आयोजित शिविर बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो। शिविरबाट ४ देखि ५० वर्ष उमेर समूहका कुल ५० जना विद्यार्थी तथा सेवाग्राही लाभान्वित भएका थिए। लाभान्वितमध्ये २५ जना फरक क्षमता भएका व्यक्ति थिए।

शिविरमा वज्र डेन्टल केयर एण्ड इम्प्लान्ट सेन्टरका संस्थापक तथा प्रमुख दन्त चिकित्सक डा. कर्मा शेर्पासहित दुई जना दन्त चिकित्सक र दुई जना नर्सको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको थियो। टोलीले सहभागीहरूको निःशुल्क दन्त परीक्षण, दाँत सफा तथा पोलिसिङ, दन्त स्वास्थ्यसम्बन्धी परामर्श र मुख स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरेको थियो। साथै, सहभागीहरूलाई मुख तथा दाँतको सरसफाइका सामग्रीसमेत वितरण गरिएको थियो।

कार्यक्रमको व्यवस्थापन तथा सञ्चालनमा नेपाल शेर्पा विद्यार्थी संघका केन्द्रीय अध्यक्ष डेविट शेर्पासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

संघका केन्द्रीय अध्यक्ष डेविट शेर्पाले समुदायमा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै आर्थिक तथा अन्य कारणले नियमित दन्त परीक्षण गराउन नसकेका व्यक्तिहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए।
विशेषगरी फरक क्षमता भएका व्यक्तिहरूलाई समेत लक्षित गरी आयोजना गरिएको शिविरले दन्त स्वास्थ्य सेवामा उनीहरूको पहुँच विस्तार गर्न र मुख स्वास्थ्यप्रति सचेतना फैलाउन सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

नेपाल शेर्पा विद्यार्थी संघले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य तथा सामुदायिक हितसँग सम्बन्धित सामाजिक सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट